काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तीन ठूला राजनीतिक दलबीच तालमेल हुने निश्चित भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।
लेखकले दिएको जानकारीअनुसार राष्ट्रिय सभाका रिक्त हुन लागेका सिटहरूमा साझा उम्मेदवार तय गरी प्रतिस्पर्धामा जाने विषयमा चारै दलबीच प्रारम्भिक सहमति बनेको हो ।
यससम्बन्धी छलफल सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षबीच निरन्तर रूपमा भइरहेको र सिट बाँडफाँड तथा उम्मेदवार छनोटको विषयलाई अन्तिम रूप दिने काम जारी रहेको उनले बताए ।
उनले राष्ट्रिय सभालाई स्थायित्व र सहकार्यको मञ्चका रूपमा विकास गर्न ठूला दलबीच समझदारी आवश्यक रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा सहमति र सहकार्यको विकल्प नभएको बताए । राष्ट्रिय सभा निर्वाचनलाई सहमतिमै टुंग्याउने दिशामा दलहरू अघि बढेका छन् लेखकले भने ।
राष्ट्रिय सभाको आगामी निर्वाचनमा १८ सिटका लागि चुनाव हुँदैछ । माघ ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने व्यवस्था छ । दलहरूबीच तालमेल भएमा अधिकांश सिटमा निर्विरोध वा साझा उम्मेदवारमार्फत परिणाम सुनिश्चित हुने सम्भावना देखिएको छ ।
पार्टीहरूबीच सिट बाँडफाँड करिब टुङ्गिएको जानकारी लेखकले दिए । राष्ट्रिय सभाको आगामी चुनावमा काँग्रेस एमालेले ७/७ स्थान, नेकपाले ३ र जसपाले १ स्थान लिनेगरी सहमतिको खाका तयार भएको लेखकले जानकारी दिए ।