कांग्रेस केन्द्रीय कार्यालय बाहिर प्रदर्शन हुँदा वैकल्पिक गेटबाट प्रवेश गर्दै नेताहरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध गरेका छन् । 

विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालय बाहिर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले नेताहरूलाई बैठक कक्षमा प्रवेश गर्न नदिने गरी कार्यालय घेराउ गरेका हुन् । 

उनीहरूले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी गरेर कार्यालय घेरेपछि नेताहरूलाई वैकल्पिक ढोकाबाट भित्र प्रवेश गराइएको छ ।

प्रदर्शनका क्रममा केही नेता र कार्यकर्ताबीच भनाभनसमेत भएको छ । अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुने नेताहरू वैकल्पिक गेट प्रयोग गरी कार्यालय प्रवेश गरिरहेको एक नेताले जानकारी दिए ।

मंगलबार (आज) बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे तय गरिए पनि अवरोध र तनावपूर्ण अवस्थाका कारण अहिलेसम्म सुरू हुन सकेको छैन ।

Share News