एमआईटी कलेजमा नयाँ गिनिज रेकर्ड बनाउने तयारी, मैदानमा नेपाली मेमोरी एथलेट कृष्ण पाण्डे

काठमाडौं । प्रख्यात मेमोरी एथलेट तथा पूर्व गिनिज वर्ल्ड रेकर्डधारी कृष्ण पाण्डेले नेपालमै नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने प्रयास गर्ने भएका छन् । 

मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेज, बागबजारको आयोजनामा माघ ६ मा काठमाडौं मोडल सेकेन्डरी स्कूल बागबजारमा उक्त रेकर्ड प्रयास हुन लागेको हो ।

‘फास्टेस्ट टाइम टु स्पेल फिफ्टी वर्ड्स ब्याकवार्ड्स’ शीर्षकअन्तर्गत हुने यस प्रयासले गिनिज वर्ल्ड रेकर्ड्सका कडा मापदण्डअनुसार नयाँ कीर्तिमान स्थापित गर्ने लक्ष्य लिएको छ । 

कार्यक्रम एमआईटी कलेजले केएमएसएससँगको सहकार्यमा आयोजना गर्न लागेको हो भने बेस्ट वेस्टर्न प्लस हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ ।

एमआईटीका सहसंस्थापक आरके दाहालका अनुसार रेकर्ड प्रयास पूर्ण रूपमा नियन्त्रित र ध्यान भंग नहुने वातावरणमा सम्पन्न गरिनेछ । 

आयोजकका अनुसार यो कार्यक्रमले नेपाली प्रतिभालाई विश्वस्तरमा चिनाउने छ ।

एमआईटीले आफ्नो शैक्षिक दृष्टिकोणअनुसार युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै उनीहरूको क्षमता पहिचान र विकास गर्न यस्ता कार्यक्रमहरू गर्दै आएको जनाएको छ । 

अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयसँग आबद्ध एमआईटी कलेजले आईटी तथा व्यवस्थापन विषयमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै आएको छ ।

कार्यक्रमलाई व्यवस्थित र विश्वसनीय बनाउन सबै सरोकारवालाबीच औपचारिक सम्झौता भइसकेको आयोजकले जनाएको छ । 

Share News