काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्कँदै जाँदा त्यसका पक्षधर नेता–कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । नियमित १५ औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसकेपछि उत्पन्न असन्तुष्टिका बीच उनीहरू सानेपामा भेला भएर दबाबमूलक प्रदर्शनमा उत्रिएका हुन् ।
नियमित महाधिवेशनको प्रक्रिया अवरुद्ध भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको नेता रामप्रसाद अधिकारीले जानकारी दिए।
पार्टी विधानअनुसार समयमै महाधिवेशन हुन नसकेको र नेतृत्वले स्पष्ट मार्गचित्र दिन नसकेको भन्दै विशेष महाधिवेशन नै वर्तमान संकटको निकास हुने अधिकारीको दाबी छ ।
सानेपामा भेला भएका नेता–कार्यकर्ताले पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न, वैधानिकता कायम राख्न र आन्तरिक लोकतन्त्र सुदृढ गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । उनीहरूले नेतृत्वसँग तत्काल निर्णय लिन आग्रह गर्दै ढिलासुस्ती भए थप दबाबका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको अधिकारीले बताए ।
महाधिवेशनको प्रकृति र मितिलाई लिएर कांग्रेसभित्र मतभेद तीव्र बन्दै गएको छ । एक पक्ष नियमित महाधिवेशनको पक्षमा उभिँदा अर्को पक्ष विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिइरहेको छ ।