काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेलका क्रममा ७ सिटमा दाबी प्रस्तुत गरेको छ । सत्ता गठबन्धन तथा अन्य दलहरूसँगको छलफलमा एमालेले आफ्नो संगठनात्मक बल, विगतको प्रतिनिधित्व र प्रदेशगत सन्तुलनका आधारमा ७ सिट उपयुक्त हुने तर्क अघि सारेको हो ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेको सिटहरूमा साझा उम्मेदवार तय गर्ने विषयमा प्रमुख दलहरूबीच निरन्तर संवाद भइरहेको छ । उनले एमालेले हाल राष्ट्रिय सभामा रहेको आफ्नो उपस्थितिलाई निरन्तरता दिन र प्रभावकारी भूमिका निर्वाह गर्न पर्याप्त सिट आवश्यक हुने बताएका छन् ।
एमाले नेतृत्वले राष्ट्रिय सभा निर्वाचनमा एक्लै नभई सहकार्यको मोडेललाई प्राथमिकता दिइरहे पनि सिट बाँडफाँडमा विकल्प खुला रहने संकेतसमेत दिएको छ । पार्टीभित्र ७ सिटभन्दा कम स्वीकार्य नहुने मत बलियो रूपमा उठिरहेको भट्टले जानकारी दिए ।