काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० जना केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेट गरी पार्टीभित्र देखिएको विवाद समाधानमा अग्रसर भूमिका खेल्न आग्रह गरेका छन् ।
नेताहरूले मंगलबार बिहान कोइरालासँग करिब साढे दुई घण्टा लामो छलफल गरेको वार्तामा सहभागी नेता पुष्पा भुसालले जानकारी दिइन् । भेटमा पार्टीभित्र बढ्दै गएको मतभेद, महाधिवेशनको मिति र प्रकृतिसँग सम्बन्धित विवाद तथा त्यसको समाधानका उपायबारे गहन छलफल भएको उनले जानकारी दिइन् ।
केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि अग्रसर हुन आफूहरूले आग्रह गरेको अर्का केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार अहिले देखिएका समस्या समाधानका लागि तीनवटा प्रस्तावमा छलफल भइरहेको छ ।
पछिल्लो समयमा नेता कोइरालासँग पार्टी बचाउन आग्रह गर्दै पुग्ने नेताहरू बढिरहेका छन् । उनी विशेष महाधिवेशनको पक्षमा पनि खुलेर उभिएका छैनन् । तर, केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरे विशेष महाधिवेशन गर्न सकिने धारणा उनले राख्दै आएका छन् ।
आजको छलफलमा नेताहरू राजन केसी, उदयशमशेर राणा, योगेन्द्र चौधरी लगायतका नेताहरू सहभागी रहेको नेता शेर्पाले जानकारी दिए ।
छलफल पछि बोल्दै शेर्पाले भने, ‘पार्टीभित्रका विवाद समाधानका विषयमा हामीले नेता कोइरालासँग विस्तृत छलफल गरेका छौं ।’
उनका अनुसार नेता कोइराला पार्टीभित्रका मतभेद न्यूनीकरण गर्दै अघि बढ्न सकारात्मक देखिएका छन् ।
बिहान कोइराला निवास पुगेका सहमहामन्त्री बद्री पाण्डेले नेता कोइरालाले अगाडि सारेका प्रस्तावहरूले मात्रै पार्टीको एकता मजबुत पार्ने दावी गरे । उनले भने, ‘सबै पक्षका नेताहरूले कोइरालालाई नेतृत्व लिन र विवाद समाधान गर्न आग्रह गरेका छन् ।’