काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत ७ जना कर्मचारी लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगन्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागूपदार्थ खाएको प्रमाणित गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्त कुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन् ।
त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौं चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
लागूपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागूपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।