३ करोड लगानीमा चिया खेती, १ हजार ३०० जना सेयर सदस्य​​​​​​​

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित वृहत् चिया खेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चिया खेती विस्तार थालेको हो ।

गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चिया खेतीका लागि ३ करोड रुपैयाँ लगानी भइसकेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । उनका अनुसार चिया खेती विस्तारमा १ हजार ३०० जना सेयर सदस्यको सहभागिता छ ।

‘आमचोक गाउँपालिकामा चिया खेतीको प्रशस्त सम्भावना छ । हाल हामी वृहत् रूपमा चिया खेती विस्तार गरिरहेका छौँ । चिया खेतीलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्दै स्थानीयको जीवनस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने । 

प्राकृतिक सौन्दर्य र पर्यटनको उच्च सम्भावना बोकेको आमचोक क्षेत्रका नाङ्गा तथा खाली पाखालाई हरियालीमा रूपान्तरण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले चिया खेती विस्तार गरिएको हो । हालसम्म करिब ७ सय रोपनीमा चिया खेती विस्तार भइसकेको अध्यक्ष राईले जानकारी दिए ।

खाली जमिनको सदुपयोग गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि योजनाबद्ध रूपमा चिया खेती विस्तार सुरु गरेको हो । गाउँपालिकाभित्र चिया खेतीको राम्रो सम्भावना रहेको वडा नं १, २, ३ र ६ मा प्राथमिकताका साथ खेती विस्तार थालिएको छ । यी वडामा प्रशस्त खाली जमिनसँगै पर्यटन प्रवर्द्धनको सम्भावना रहेकाले दीर्घकालीन योजनासहित कार्यक्रम अघि बढाइएको अध्यक्ष राईले बताए ।

‘गाउँपालिकाले योजनाबद्ध रूपमा चिया खेती विस्तार गरिरहेको छ । यहाँका खाली जमिनको सदुपयोग गर्दै आयआर्जन वृद्धि र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने हाम्रो प्रयास हो,’ उनले भने ।

आमचोक गाउँपालिकाको माथिल्लो भेगमा प्रशस्त खाली चौर रहेको र उक्त क्षेत्र चिया खेतीका लागि उपयुक्त भएको अध्यक्ष राई बताउँछन् । गाउँपालिकासँगै स्थानीयलाई निजी खाली जमिनमा चिया खेती विस्तार गर्न प्रोत्साहित गर्ने कार्यक्रम पनि सञ्चालन गरिने उनले जानकारी दिए । उत्पादन भएको चियाको प्रशोधनका लागि वडा नं २ मा चिया प्रशोधन कारखानाको संरचना निर्माण भइसकेको गाउँपालिका जनाएको छ । मेसिन जडानको काम भने बाँकी छ ।

Share News