देशभरिका भन्सार नाकामा लागू भएको अनलाइन मूल्यांकन डाटाबेस प्रणालीले कसरी काम गर्छ ?

काठमाडौं । सरकारले भन्सारमा जाँचपासमा लागू हुँदै आएको सन्दर्भ मूल्य पुस्तिकालाई खारेज गरेर अनलाइन मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएको छ । 

यो प्रणाली कार्यान्वयनमा आएपछि कसरी काम हुन्छ ? भन्नेमा केही दुविधा पनि देखिएको छ। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भदौ ८ गतेबाट विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज हुँदै चोभार, त्रिभूवन विमानस्थल भन्सार कार्यालय लागू गरिएको अनलाइन मूल्यांकन डाटाबेस प्रणाली बाँकी रहेका १८ वटा भन्सार कार्यालयहरूमा कार्यान्वयन गएको बताए । भन्सार बिन्दुसम्म आइपुग्दा लागेका सम्पूर्ण खर्चहरू जोडेर कायम हुने मूल्य नै कारोबार मूल्य हो । त्यो मूल्यमा भन्सारले मालवस्तु जाँचपास थालेको छ । 

उनकाअनुसार विगतका दिनहरूमा सन्दर्भ मूल्यलाई आधार बनाएर नक्कली बिजकहरू प्रस्तुत हुने गरेका थिए । भन्सार आफैँले सन्दर्भ मूल्यमा कुनैपनि वस्तुको मूल्य मिल्छ भने त्यसमा त्यति खोजिनिति गरिँदैन थियो । तर अब यो प्रणाली लागू भएपछि स्वतः व्यवसायीलाई इमान्दार बन्न दबाब सिर्जना भएको छ ।

निजी क्षेत्रले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यता अन्त्य गर्दै व्यवसायी यो परिवर्तनअनुरूप वास्तविक कारोबार र सही कागजात मात्र पेश गरी इमान्दार हुनुपर्ने भण्डारीले बताए ।

महानिर्देशक भण्डारीले भने–‘पहिले भन्सारले मालवस्तुको मूल्यांकन गर्दा सन्दर्भ मूल्य पुस्तिका थियो, त्यसलाई हटाएर गत भदौ ८ गतेबाट विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज हुँदै चोभार, त्रिभूवन विमानस्थल भन्सार कार्यालय लागू गरिएको थियो । पुस १८ बाट बाँकी रहेका १८ वटा भन्सार कार्यालयहरु अनलाइन मूल्यांकन डाटाबेस प्रणाली शुरुवात गरेका छौं ।' 

महानिर्देशक भण्डारीले भन्सार प्रशासनसँग विगत २७ वर्षदेखि निजी क्षेत्रले माग गरेको सन्दर्भ मूल्य हटाउनुपर्ने, व्यापारको लागत बढायो, बिलिङहरू जारी गर्न सकेनौँ भन्ने व्यवसायीका मागहरू सम्बोधन भएको बताए ।

Share News