काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी पर्याप्त भए पनि निजी क्षेत्रको मनोबल खस्किँदा लगानीको वातावरण अघि बढ्न नसकेको बताएका छन् ।
विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लगानीको धारणा र व्यवहारमा परिवर्तन आएको उल्लेख गरे ।
‘पहिले निजी क्षेत्रलाई घाँटी हेरेर हाड निल्नुपर्छ भनिन्थ्यो, तर अहिले समय फेरिएको छ । अब हाड हेरेर घाँटी बनाउनुपर्ने अवस्था आएको छ,’ उनले भने ।
श्रेष्ठका अनुसार कोरोना महामारी, युवा पलायन, विभिन्न किसिमका आन्दोलन र अस्थिरताका कारण समग्र अर्थतन्त्र सुस्त भएको छ । यसले निजी क्षेत्रको लगानी क्षमतामा प्रत्यक्ष असर पारेको उनले बताए ।
उनले समयमै निर्वाचन सम्पन्न भई राजनीतिक स्थिरता कायम होस् भन्ने निजी क्षेत्रको अपेक्षा रहेको उल्लेख गरे । साथै, निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार हुन नसकेकोप्रति उनले असन्तोष व्यक्त गरे ।
‘निजी क्षेत्र देश विकासका लागि काम गर्ने पक्ष हो, तर बारम्बार आरोप-प्रत्यारोप लाग्ने गरेको छ,’ उनले भने ।
उनका अनुसार पहुँचभन्दा परिश्रमका आधारमा अगाडि बढेका धेरै उद्योगी-व्यवसायी देशमै रहेका छन् ।
श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रमका क्रममा निजी क्षेत्रलाई गलत रूपमा परिभाषित गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसमा सुधार आवश्यक रहेको धारणा राखे ।