अपेक्षा अनुसार विकास हुन सकेन, कार्यान्वयनमै समस्या छः डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले नेपालमा विकास पूर्ण रूपमा नभएको भने होइन, तर अपेक्षा र आवश्यकताअनुसार विकास हुन नसकेको बताएका छन् । उनका अनुसार देशको विकास गति कछुवाजस्तै सुस्त रहेको छ ।

विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले नेपालले २०१३ सालदेखि योजनाबद्ध रूपमा विकासको अभ्यास थालेको स्मरण गराउँदै हाल १६औँ पञ्चवर्षीय योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

‘हामीसँग नीतिगत रूपमा हेर्दा प्रायः सबै कुरा पर्फेक्ट छन्, तर समस्या कार्यान्वयनमा देखिएको छ । कार्यान्वयन कसले गर्ने भन्ने विषयमै अन्योलता छ,’ उनले भने ।

डा. श्रेष्ठले राजनीतिक अस्थिरता र कर्मचारी प्रशासनमा देखिएको अस्थिरता पनि विकास सुस्त हुनुको प्रमुख कारण रहेको बताए । ‘यसअघि योजना आयोगको सदस्य हुँदा एउटै अवधिमा चार जना सचिवसँग काम गर्नुपर्ने अवस्था थियो,’ उनले उदाहरण प्रस्तुत गरे ।

उनका अनुसार कानुनी जटिलता र प्रक्रियागत झन्झटले पनि विकासका काम अघि बढ्न सकेका छैनन् । ‘सरकारी संरचना नै समस्या माथि समस्या थपिएको जालोमा फसेको छ । कहाँबाट सुरु गर्ने भन्ने अन्योलता छ,’ उनले स्पष्ट पारे ।

डा. श्रेष्ठले हाल अर्थतन्त्रमा चक्रीय असर देखिन थालेको उल्लेख गर्दै संरचनागत सुधार र कार्यान्वयन क्षमतामा सुधार नगरे विकासले गति लिन नसक्ने चेतावनी दिए ।

Share News