शिक्षामा कर्जा माग्दा बैंकले ऋण दिएन, कार किन्न जाँदा सजिलै पाइयो: सुलभ बुढाथोकी

काठमाडौं । आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले समयानुकूल शिक्षा नीति लागू गर्न नसक्दा विद्यार्थीहरू अझै विदेश पलायन हुने खतरा रहेको बताएका छन् । उनका अनुसार आजभन्दा ३० वर्षअघिको शिक्षा नीतिलाई अहिले पनि लागू गर्ने हो भने देशभित्र कलेज र विद्यालयमा विद्यार्थी टिकाइराख्न गाह्रो हुन्छ ।

विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै बुढाथोकीले समय सापेक्ष शिक्षा नीति अवलम्बन गर्दा कलेज र विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने बताए । ‘हामीले समयअनुसार शिक्षा नीतिलाई अगाडि बढाएकै कारण कलेजमा विद्यार्थीको भीड देखिएको हो,’ उनले भने ।

उनका अनुसार आजका युवाहरू अर्थात् जेनजी पुस्ताले शिक्षकको ज्ञान मात्र नभई सिकाइको वातावरण, सुविधा र मनोरञ्जनात्मक पद्धतिलाई पनि प्राथमिकता दिन थालेका छन् । ‘विद्यालयमा सिकाइसँगै मनोरञ्जनको वातावरण बनाइयो भने विद्यार्थी आफैं आकर्षित हुन्छन्,’ उनले स्पष्ट पारे ।

बुढाथोकीले आफ्नो संस्थाले विद्यालयमा समय सापेक्ष वातावरण सिर्जना गरेकाले विद्यार्थीको चासो बढेको दाबी गरे । साथै, शिक्षालाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले शिक्षा क्षेत्रमा लगानी गर्न खोज्दा बैंकबाट सहजै कर्जा नपाएको गुनासो गरे । ‘शिक्षामा कर्जा माग्दा बैंकले ऋण दिन मानेन, तर एउटा कार किन्न जाँदा सजिलै ऋण पाइयो,’ उनले भने ।

बुढाथोकीले शिक्षा क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्न सके मात्र वास्तविक सुधार सम्भव हुने बताए । ‘शिक्षा क्षेत्रलाई राजनीतिक झण्डा बोकेको झुण्डबाट मुक्त गर्न सकियो भने शिक्षामा आमूल परिवर्तन ल्याउन सकिन्छ,’ उनले बताए ।

Share News