काठमाडौं । पूर्वाधार विकासविज्ञ डा. सूर्यराज आचार्यले छोटो समयमा आवश्यक सबै पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले ठूलो लगानी अपरिहार्य रहेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले तत्काल देखिने चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।
डा. आचार्यका अनुसार पूर्वाधारमा गरिएको लगानीले अर्थतन्त्रमा बहुगुणात्मक प्रभाव पार्छ । ‘पूर्वाधारमा १ अर्ब रुपैयाँ खर्च गर्दा त्यसले ४ देखि ५ अर्ब रुपैयाँसम्म जीडीपीमा योगदान पुर्याउँछ,’ उनले भने ।
उनका अनुसार पूर्वाधारमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिए पनि दीर्घकालमा उत्पादकत्व र आर्थिक वृद्धिमा स्पष्ट प्रभाव देखिन्छ । उनले पूर्वाधारलाई केवल भौतिक संरचनाका रूपमा नभई क्षेत्रीय तथा उत्पादनमुखी विकाससँग जोडेर हेर्नुपर्ने बताए ।
‘राष्ट्रिय राजमार्ग भनेको गाडी मात्र चल्ने बाटो होइन, यसले उत्पादन, बजार र रोजगारीलाई पनि जोड्छ,’ उनले स्पष्ट पारे ।
डा. आचार्यले देशमा स्रोतको अभावभन्दा सोच र योजना निर्माणको कमजोरी बढी देखिएको उल्लेख गरे । ‘हामीसँग पर्याप्त पैसा छैन भन्ने गरिन्छ, तर बनेका विमानस्थलहरू पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । गाउँ–गाउँमा सडक बनेका छन्, तर ती सडक उत्पादनसँग जोडिएका छैनन्,’ उनले भने ।
साथै सुरुङ मार्गजस्ता ठूला पूर्वाधार सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति समेत तयार गर्न नसकिएको उनको भनाइ छ । उनले योजना तर्जुमा गर्दा दीर्घकालीन आवश्यकता र परिणाम स्पष्ट हुनुपर्नेमा जोड दिए । ‘योजना कागजी खोस्टा मात्र हुनु हुँदैन, व्यवहारमा लागू हुने खालको हुनुपर्छ,’ उनले बताए ।
पूर्वाधार क्षेत्रमा लगानी गर्ने बैंकको नभएको उनले बताए । विकास बैंक भनेर धेरै वटा सञ्चालनमा रहेपनि रिटेल बैंकिङ गरिरहेको उनको भनाइ छ ।
‘हामीसँग विकास बैंक धेरै छन् । तर ती विकास बैंकले रिटेल बैंकिङ मात्रै गरिरहेका छन् । हामीसँग विकासमा काम गर्ने बैंक नै छैनन्,’ उनले भने ।
उनका अनुसार निर्माण गर्ने क्षमता भयो भने पैसाको समस्या हुँदैन । कतिपयले घाँटी हेरेर हाड निल्ने भनिरहेका हुन्छन् । तर, घाँटी हेरेर हाड निल्ने भनेको परिवारले हो । सरकारले हाड हेरेर घाँटी बनाउनुपर्ने उनको भनाइ छ ।