काठमाडौं । अर्थशास्त्री डा. विश्वास गौचनले पछिल्लो समय बाह्य क्षेत्रका आर्थिक सूचकहरु सकारात्मक देखिए पनि अन्य क्षेत्रमा चुनौतीहरू थपिँदै गएको र अपेक्षित रूपमा लगानी वृद्धि हुन नसकेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार हाल करिब साढे २१ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको भए पनि निजी क्षेत्रको लगानीमा उत्साह आउन नसकेको र नीति निर्माताहरूलाई उच्च सञ्चिति कसरी देश विकासमा परिचालन गर्ने भनेर सोच्न नसकेको बताएका छन्। परम्परागत रुपमा सोचे अनुरूप हाइड्रोपावर र पर्यटन क्षेत्रको विकासले मात्र देश समृद्ध बन्न नसक्ने उनको धारणा छ ।
डा. गौचनले युवाहरूको अत्यधिक विदेश पलायनका कारण रेमिट्यान्स वृद्धि भइरहेको उल्लेख गरे । उनका अनुसार ४-५ वर्षअघि नै बैंकिङ क्षेत्रको आकार देशको अर्थतन्त्रको आकारभन्दा ठूलो भइसकेको थियो ।
अहिले लगानीका अवसर हुँदाहुँदै पनि हामीले ती अवसर गुमाएका छौं । अबको मुख्य चुनौती वित्तीय क्षेत्रमा देखिएको छ । त्यसैले समयमै सजग हुन जरुरी छ । विशेषगरी अहिले नै खराब कर्जा (ब्याड डेब्ट) समस्याको समाधान गर्नुपर्छ,’ उनले भने ।
उनका अनुसार भारतमा यो शताब्दीको पहिलो दशकको २३ प्रतिशत कर्जा वृद्धिबाट दोस्रो दशकमा साढे ११ प्रतिशतमा खुम्चिँदा खराब कर्जा दुई अंक सम्म पुगेको थियो । तर नेपालमा भने बिगतको २० प्रतिशतबाट हाल ६ प्रतिशतमा घट्दा पनि खराब कर्जा करिब ५ प्रतिशत हाराहारीमा मात्र देखाइएको उनले जानकारी दिए ।
खराब कर्जालाई समयमै समाधान गर्नु आवश्यक छ । गैर-बैंकिङ सम्पत्तिहरू समयमै बिक्री गरेर समस्याको समाधानतर्फ अघि बढ्नुपर्छ । रोजगारीका लागि विदेश जानुपर्ने, अर्थतन्त्र वृद्धिका लागि जग्गामा लगानी गर्नुपर्ने र उपभोगका लागि आयातमा निर्भर रहनुपर्ने अवस्था देखिएको छ । यो समस्या कोरोना, जेनजी वा भूकम्पका कारण आएको होइन, हामीले अपनाउँदै आएको अभ्यासकै परिणाम हो,’ उनले स्पष्ट पारे ।
डा. गौचनले जो-कोही प्रधानमन्त्री वा अर्थमन्त्री बने पनि नेपाल कहिल्यै सिंगापुर वा स्विट्जरल्यान्डजस्तो बन्न नसक्ने यथार्थ स्वीकार गर्नुपर्ने बताए ।
साथै उनले कार्बन व्यापार लगायत अन्य नयाँ सम्भावनामा समेत जोड दिन आवश्यक रहेको उल्लेख गरे । लाखौंको संख्यामा विदेशिएका नेपालीलाई नेपालको विकासमा जोड्ने र राज्य आफै पनि एक उद्यमी जसरी सोचेर अगाडि बढ्नु पर्ने धारणा राखे ।