काठमाडौं । विकास मिडिया प्रा.लिले ‘विकास नायक-२०८२’ सार्वजनिक गरेको छ । विकास मिडियाको २०औँ वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी समाज र देश विकासमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न क्षेत्रका १० जना व्यक्तित्वलाई विकास नायकका रूपमा सार्वजनिक गरिएको हो ।
‘विकास नायक, २०८२’ निर्णायक समितिले विभिन्न १० क्षेत्रलाई समेटेर विकास नायक छनोट गरेर सार्वजनिक गरेको हो । बैंक तथा वित्तीय क्षेत्रबाट नबिल बैंक, राजनीतिक संस्कार क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, स्वास्थ्य सेवा क्षेत्रबाट धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल विकास नायक-२०८२ बन्न सफल भएका हुन् ।
यस्तै, श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसायबाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की, र कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त विकास नायकबाट सम्मानित भएका हुन् ।
यी व्यक्ति तथा संस्था आ-आफ्नो क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरेको विकास नायक छनोट समितिका संयोजक कृष्णहरि बास्कोटाले बताए । बास्कोटाको संयोजकत्वमा गठित विकास नायक २०८२ को निर्णायक समितिको सदस्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानवीकी संकायकी पूर्व डिन प्राध्यापक डा. कुशुम शाक्य, वरिष्ठ पत्रकार शिव गाउँले, उद्यमी निरञ्जन श्रेष्ठ रहेका छन् भने विकासन्युजका सम्पादक सन्तोष रोकाया सदस्य सचिव छन् ।
यस वर्षदेखि विकास नायक अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विकास नायकहरूलाई सम्मान समेत गरिएको विकास मिडियाका अध्यक्ष तथा प्रधानसम्पादक रामकृष्ण पौडेलले बताए । पौडेलका अनुसार आर्थिक, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता, सामाजिक सेवा, सञ्चार, प्रविधि, पर्यटन, वातावरण संरक्षण तथा सार्वजनिक सेवा क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई यस वर्षको विकास नायकका रूपमा सम्मान गरिएको हो ।
विकास नायक अभियानको उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउने व्यक्तिहरूलाई पहिचान गरी उनीहरूको कामलाई राष्ट्रियस्तरमा उजागर गर्नु रहेको छ । विकास मिडियाले विगत २० वर्षदेखि विकास, सुशासन, सामाजिक रूपान्तरण र नागरिक सशक्तीकरणका विषयमा पत्रकारिता गर्दै आएको छ ।
विकास नायक-२०८२ का रूपमा छनोट भएका व्यक्तिहरूले दुर्गम क्षेत्रदेखि शहरी समाजसम्म परिवर्तनका पहलहरू अघि बढाएको, रोजगारी सिर्जना, सेवा प्रवाहमा सुधार, नवप्रवर्तन तथा सामाजिक समावेशीतामा योगदान पु¥याएको विकास मिडियाले जनाएको छ ।
सम्मानित व्यक्तित्वहरूलाई विशेष समारोहका बीच अर्थमन्त्री रामेश्वर खनालले विकास नायकलाई सम्मानपत्र तथा अवार्ड प्रदान गरेर हौसला प्रदान गरेका छन् । उक्त समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, नीति निर्माता, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विकास मिडियाले आगामी दिनमा पनि विकास नायक अभियानलाई निरन्तरता दिँदै समाजका सकारात्मक पात्रहरूलाई चिनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
विकास मिडियाद्वारा प्रकाशित विकासन्यु डटकम र देशविकास पत्रिकाले विगतका वर्षहरूमा झैं यस वर्ष पनि विकास नायकको खोजी गरेर उनीहरूले गरेका कार्यहरूको रिपोर्ट पनि तयार गरेको छ । विकास नायकहरूको कार्य, प्रभाव र योगदानबारे तयार गरिएका विशेष रिपोर्टहरू देशविकास म्यागेजिनमा प्रकाशित छन् भने विकासन्युज डटकममा पनि सार्वजनिक गरिनेछ ।