विशेष वा नियमित महाधिवेशनको बहस : शेखरको मध्यमार्गी प्रस्ताव– देउवालाई सांसद नहुन आग्रह गरौं

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनको मिति र प्रकृतिलाई लिएर विवाद चर्किँदै जाँदा वरिष्ठ नेता डा. शेखर कोइराला समूहमा नयाँ राजनीतिक बहस सुरु भएको छ। 

विशेष महाधिवेशनको विपक्षमा उभिँदै आएका कोइरालाको आह्वानमा बसेको समूहको बैठकले आगामी बैशाखको अन्तिम साता नै १५ औं महाधिवेशन गर्ने पक्षमा सहमति जनाएको छ । 

यससँगै पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनका पक्षधरबीच देखिएको ध्रुवीकरणलाई मध्यमार्गी बाटोबाट समाधान गर्ने प्रयासका रूपमा कोइरालाको सक्रियता बढेको देखिन्छ ।

पार्टीसंगठनभित्र एकातिर विशेष महाधिवेशनको माग तीव्र हुँदै गएको छ भने अर्कोतिर नियमित महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान पनि बलियो बन्दै गएको छ । यही पृष्ठभूमिमा बसेको कोइराला समूहको बैठकले राजनीतिक रूपमा विशेष महाधिवेशन अहिले उपयुक्त नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी नेताहरूले अहिलेको प्राथमिकता राष्ट्रिय सभा निर्वाचनको तयारी, प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने र आगामी आम निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । यस्तो अवस्थामा पार्टीलाई थप आन्तरिक विवादमा फसाउने विशेष महाधिवेशनको औचित्य नरहेको उनीहरूको निष्कर्ष छ ।

बैठकमा उपस्थित सहमहामन्त्री बद्री पाण्डेले विशेष महाधिवेशनको विषयमा कानुनी र राजनीतिक पक्ष फरक फरक रहेको बताएका छन् । उनका अनुसार विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्न सकिने प्रावधान भए पनि अहिलेको राजनीतिक सन्दर्भमा त्यो सही विकल्प होइन ।

‘विधिवत रूपमा विशेष महाधिवेशनको आह्वान विधानसम्मत भए पनि राजनीतिक रूपमा त्यसलाई अहिले उचित मान्न सकिँदैन,’ पाण्डेले भने, ‘त्यसैले पार्टीको ध्यान विशेष महाधिवेशनभन्दा पनि बैशाखको नियमित १५ औं महाधिवेशनमै केन्द्रित हुनुपर्छ भन्नेमा बैठक एकमत छ ।’

बैठकमा अर्को महत्त्वपूर्ण प्रस्ताव पनि छलफलमा आएको छ, जसले कांग्रेसभित्रको नेतृत्व विवादलाई निकास दिन सक्ने संकेत दिएको छ । पाण्डेका अनुसार वर्तमान सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनमा सल्लाहकारको भूमिकामा बस्ने सार्वजनिक अभिव्यक्ति दिइसकेको सन्दर्भमा अब उनलाई प्रतिनिधिसभाको उम्मेदवार नबन्न आग्रह गर्ने प्रस्ताव बैठकमा उठेको हो ।

‘यदि सभापति देउवाले प्रतिनिधिसभाको उम्मेदवार नबन्न सहमति जनाउनु भयो भने अहिले देखिएका धेरै समस्या आफै समाधान हुन्छन्,’ पाण्डेले भने, ‘१५ औं महाधिवेशनले त स्वभाविक रूपमा नयाँ सभापति छानिहाल्छ ।’

उनका अनुसार पार्टीभित्र केही नेताहरूलाई देउवाजी फेरि प्रधानमन्त्री हुनुहुन्छ कि भन्ने चिन्ता रहेको देखिन्छ । त्यसलाई पनि सामूहिक सहमतिमार्फत सम्बोधन गर्न सकिने पाण्डेको भनाइ छ ।

‘यदि त्यही डर हो भने, सबै मिलेर उहाँलाई प्रतिनिधि सभाको उम्मेदवार नबन्न आग्रह गरौं,’ उनले भने, त्यसो भयो भने पार्टीले नयाँ सभापति पनि पाउँछ, संसदीय दलले पनि नयाँ नेता पाउँछ ।’

कोइराला समूहको यो धारणा पार्टीभित्र नेतृत्व पुस्तान्तरण र शक्ति सन्तुलनको बहससँग प्रत्यक्ष जोडिएको छ । नियमित महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सके पार्टी आन्तरिक रूपमा स्थिर हुने, निर्वाचनमा केन्द्रित हुन सक्ने र जनतामाझ स्पष्ट सन्देश जाने उनीहरूको ठम्याइ छ ।

कोइरालाले विशेष महाधिवेशनको विरोध नगरी मध्यमार्गी प्रस्ताव अघि सार्नुले पार्टीभित्र सहमतिको वातावरण बनाउन खोजिएको संकेत पनि दिएको छ । 

Share News