डोङफेङ ईभी किन्न अब दाङमै सुविधा, एमएडब्लु वृद्धिको नयाँ शोरूम

काठमाडौं । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा अत्याधुनिक डोङफेङ शोरूमको औपचारिक उद्घाटन गरेको छ । राप्ती अटोमार्ट प्रालिसँगको साझेदारीमा सञ्चालनमा आएको यो शोरूमलाई पश्चिम नेपालमा विद्युतीय यातायात विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

उद्घाटन कार्यक्रममा एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एमएडब्लु समूहका प्रबन्ध निर्देशक विवेक सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तसहित स्थानीय प्रतिष्ठित व्यक्तित्व, अटोमोबाइल पारखी, सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले डोङफेङको बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी ‘नामी भिगो’को औपचारिक अनावरण पनि गरेका छन् । क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ किलोवाट क्षमताको मोटर र ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने ब्याट्री प्रणाली रहेको छ ।

नामी भिगोमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट र लेभल–२ एडास प्रविधिजस्ता उन्नत सुरक्षा तथा सुविधा समावेश गरिएको छ । साथै, अल्ट्रा–फास्ट चार्जिङ सुविधामार्फत १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।

यस अवसरमा दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ पनि सुरु गरिएको छ । क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो तथा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जरसहितको डुअल–चार्जिङ समाधान, निःशुल्क अटो प्लस बीमा तथा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन सुविधा प्रदान गरिनेछ ।

प्रिमियम इलेक्ट्रिक एसयुभी खोज्ने ग्राहकका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

दाङमा सञ्चालनमा आएको यो नयाँ शोरूमले डोङफेङ र सेरेस ब्रान्डका सवारी साधनका लागि बिक्री, सेवा तथा स्पेयर पार्ट्सको पूर्ण सुविधा उपलब्ध गराउनेछ । एमएडब्लु वृद्धिले दाङ तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव लिन र सीमित अवधिका विशेष अफरको लाभ उठाउन आग्रह गरेको छ ।  

Share News