काठमाडौं । नेकपा एमाले गुल्मीले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा पार्टीले आ–आफ्नो क्षेत्रीय कमिटीमार्फत उम्मेदवारका नाम केन्द्रमा सिफारिस गरेको हो ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका प्रभावशाली नेता प्रदीप ज्ञवालीको एकल नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीको बैठकले ज्ञवालीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रमा नाम पठाएको जिल्ला नेताहरूले जनाएका छन् ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीले केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्ट, पूर्वमन्त्री तथा केन्द्रीय नेतृ रामकुमारी झाँक्री, नेता राजेन्द्र अर्यालसहितको नाम उम्मेदवारका रूपमा प्रस्ताव गरेको हो ।
एमाले गुल्मीका नेताहरूका अनुसार उम्मेदवार सिफारिस प्रक्रिया पार्टीको विधि अनुसार सम्पन्न गरिएको हो । क्षेत्रीय कमिटीको निर्णयपछि जिल्ला कमिटी हुँदै सचिवालयमा नाम पठाइएको छ। अब पार्टीको केन्द्रीय कमिटीले समग्र राजनीतिक परिस्थिति, संगठनात्मक अवस्था, विगतका निर्वाचन परिणाम र जित्ने सम्भावनालाई आधार मानेर अन्तिम उम्मेदवार तय गर्नेछ ।
गुल्मीमा उम्मेदवार सिफारिस टुंगिएसँगै एमालेको निर्वाचन तयारी थप तीव्र बनेको छ। अन्य राजनीतिक दलहरूले पनि आन्तरिक छलफल र उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइरहेका बेला एमालेले समयमै सिफारिस गरेर चुनावी रणनीतिमा अग्रता लिने प्रयास गरेको देखिन्छ।