काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम समावेश भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि ढकालले शनिबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् ।
फेसबुकमा सार्वजनिक वक्तव्यमा उनले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् ।
ढकालले युवाको सामूहिक नेतृत्वमार्फत सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् ।
समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेकोमा पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको धारणा राखेका छन् ।
‘नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ,’ ढकालले उल्लेख गरेका छन् ।
ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् । उनी पर्यटन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।