काठमाडौं । नेपालको अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध हुने लगभग निश्चितजस्तै भएको छ ।
तर नाडाभित्रको असन्तुष्ट पक्षले भने यो सम्पूर्ण निर्वाचन प्रक्रियालाई अवैधानिक र नाटकको संज्ञा दिँदै बहिष्कार गरेको छ । असन्तुष्ट पक्षले नयाँ नेतृत्वको वैधतामाथि प्रश्न उठाएको छ ।
असन्तुष्ट पक्षका एक अटो व्यवसायीका अनुसार यो चुनाव एउटा समूहले मात्र गरेको र यसमा आफूहरूको सहभागिता नरहेको बताए ।
‘यो विधानविपरीत भएको निर्वाचन हो, यसको कुनै अर्थ छैन । यो चुनाव एउटा नाटक मात्र हो,’ उनले भने, ‘हामीले त्यहाँ सहभागी नै भएका छैनौं, त्यसपछि निर्विरोध त भइहाल्छ नि ।’
उनका अनुसार विगतमा करण चौधरीपछि आकाश गोल्छालाई नेतृत्व दिने गरी विधानसमेत संशोधन गरेर सहमति भएको थियो तर उक्त सहमति कार्यान्वयन भएन। उनले नाडा अब पहिलाको नाडाजस्तो नरहेको जिकिर गरे ।
‘नाडा नाडा जस्तो रहेन, यहाँ सवारीसाधनका आयातकर्ता निकै कम छन्, अब यो पार्ट्स र डिलरहरूको मात्र संस्था बन्न लाग्यो,’ उनले भने ।
असन्तुष्ट पक्षले निर्वाचन प्रक्रियाविरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतको फैसला नै आफूहरूलाई मान्य हुने जनाएको छ ।
नाडाको ४९ औं साधारण सभा तथा निर्वाचन विरुद्ध असन्तुष्ट पक्ष अदालतमा जाने तयारीमा छ ।
अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा उप्रेतीको मात्रै उम्मेदवारी परेको थियो । यद्यपि निर्वाचन समितिका अनुसार उनलाई निर्वाचित घोषणा गर्न भने बाँकी छ । नाडाका कोषाध्यक्ष मिलन मल्लले भने, ‘अहिले उहाँलाई निर्वाचित भन्न मिल्दैन । निर्विरोध उम्मेदवार हुनुभएको हो । चुनाव त यही २५ गतेलाई तोकिएको छ ।’
नाडाको नेतृत्व सम्हाल्न तयार उप्रेती अटोमोबाइल क्षेत्रमा परिचित नाम हो । हेटौंडा भएका उनी विशेषगरी स्पेयर पार्ट्सको आयात व्यवसायमा संलग्न छन् । उनी पीएलओ समूहसँग पनि आबद्ध छन् ।
लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटो क्षेत्रको उत्थानमा उप्रेती सक्रिय मानिन्छन् ।
यसअघि नाडाको कोषाध्यक्ष र महासचिव पद सम्हालिसकेका उप्रेतीले लुब्रिकेन्ट र वातावरण समितिको सदस्य रहेर समेत काम गरिसकेका छन् ।
नाडाको विधानअनुसार निर्वाचनबाट एकजना अध्यक्ष र १७ जना सदस्य निर्वाचित हुन्छन् । त्यसपछि निर्वाचित अध्यक्ष र सदस्यहरूले आफूहरूमध्येबाटै अन्य पदाधिकारीहरू (उपाध्यक्ष, महासचिव, सचिव आदि) चयन गर्छन् । यस प्रक्रियामा निवर्तमान अध्यक्षसहित कुल १९ जनाको भोटिङबाट पदाधिकारीहरूको टुङ्गो लाग्नेछ ।
एकातर्फ उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति आउने निश्चित देखिएको छ भने अर्कोतर्फ संस्थाभित्रको गहिरो मतभेद र कानुनी चुनौतीले नाडाको आगामी यात्रा सहज नहुने देखिन्छ।
यसअघि गत पुस ९ गते नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचनको प्रक्रिया भने केही अन्यौलपूर्ण बनेको थियो । निर्वाचन कार्यतालिका बिना नै साधारण सभा बोलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन रोक्न निर्देशन दिएको थियो ।
प्रशासनको सोही आदेशको पालना गर्दै नाडाले पुस २५ गतेका लागि नयाँ निर्वाचन मिति तय गरेको थियो । अध्यक्षमा उप्रेती निर्विरोध भएसँगै अब अन्य कार्यसमिति सदस्य र पदाधिकारीहरू पनि सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको नाडाले जनाएको छ ।
अन्यौलमा नाडा निर्वाचन, विधान उल्लंघन र अदालतको चक्करमा नयाँ नेतृत्व
नाडाको ४९ औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि पुस २५ गते निर्वाचन हुने
नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय
निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन