काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) टेलिफोनी सेवामा अग्रणी टिङ टिङले नेपालकै पहिलो भव्य ‘भर्चुअल प्रडक्ट लन्च’ आयोजना गर्दै ‘टिङटिङ नेक्स्ट’ सार्वजनिक गरेको छ ।
यससँगै टिङ टिङले आफूलाई केवल एआई टेलिफोनी सेवा प्रदायकको सीमामा नराखी, एक बहुआयामिक एआई पावरहाउसका रूपमा स्थापित गरेको छ ।
यस लन्चलाई नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानकको रूपमा हेरिएको छ । टिङ टिङले अत्याधुनिक सञ्चार उपकरणहरू सार्वजनिक गर्नुका साथै व्यवसाय र ग्राहकबीचको सम्बन्धलाई पुनः आत्मीय बनाउने दृष्टिकोण अघि सारेको छ ।
यसले साधारण अटोमेसनभन्दा माथि उठेर ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्राको संकेत गर्ने कम्पनीले जनाएको छ ।
टिङ टिङले नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ ।
१. टिङ टिङ भ्वाइस
यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट विकसित टेक्स्ट–टु–स्पीच इन्जिन हो । स्थानीय लवज, भावना र सांस्कृतिक सन्दर्भमा आधारित ‘रिरी’ले रोबोटिक वा विदेशी लवजभन्दा फरक, स्वाभाविक नेपाली आवाजमा संवाद गर्छ ।
२. टिङ टिङ टेक्स्ट
नेपालकै सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा महत्वपूर्ण सन्देशहरू छिटो र भरपर्दो रूपमा लाखौं प्रयोगकर्तासम्म पुर्याउने सुनिश्चित गर्दछ ।
३. टिङ टिङ फर्म्स
ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत शैलीलाई रूपान्तरण गर्दै यसले आवाजमार्फत प्रतिक्रिया दिने सुविधा प्रदान गर्छ । बोलेको नेपालीलाई एआईले तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले जटिल डिजिटल फर्महरूको झन्झट हट्नेछ ।
४. टिङ टिङ एजेन्ट्स
लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत यो प्रविधिले ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता पुराना मेनु प्रणालीलाई विस्थापित गर्छ । २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज र आशय बुझ्दै प्राकृतिक दुईतर्फी संवाद गर्न सक्ने यो प्रणालीले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।
टिङ टिङ नेपालकै अग्रणी एआई सञ्चार प्लेटफर्म हो । नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यो प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन तथा अत्याधुनिक प्रविधिमार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरोसँग बुझ्न सहयोग गर्दै आएको छ ।