काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधासहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । नयाँ वर्षलाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गरी बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदी धितो कर्जा उपलब्ध गराउने जनाएको हो ।
बैंकका अनुसार कम ब्याजदर, छरितो प्रक्रिया र सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो कर्जा सुविधा प्रदान गरिनेछ । यस अन्तर्गत ग्राहकहरूले सुन वा चाँदी धितो राखी कर्जा उपभोग गर्न सक्नेछन् भने कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नसमेत कर्जा सुविधा उपलब्ध हुनेछ । सो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ तोकिएको छ ।
ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले हाल यो सेवा न्युरोड (काठमाडौं), न्युरोड (पोखरा), महाराजगञ्ज, हेटौँडा र भैरहवा शाखामार्फत सञ्चालन गरिने बैंकले जनाएको छ । यद्यपि, सुनचाँदी धितो कर्जाको आवेदन भने बैंकका जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ ।
ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले आगामी दिनमा पनि ग्राहकहितलाई केन्द्रमा राखी विभिन्न अवसर र चाडपर्वमा नवीनतम् सेवा तथा सुविधा ल्याउँदै जाने जनाएको छ ।
'सबल बैंक, सफल सहकार्य' भन्ने नाराका साथ विगत ३१ वर्षदेखि निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।