२७औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्को : नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा आसियान मुलुकलाई नेपालको लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका छन् ।

सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिने जानकारी दिएका छन् ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ थिए ।

जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान प्रस्तुत गर्दै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताएका छन् । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन् ।

उनीले जेन्जी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, र पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी दिएका छन् ।

एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ । शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य, र संस्कृति प्राथमिकतामा रहने छ।

जोशीले आगामी २०२६–२०३५ को रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्र र सरकारसँग समन्वय गरी कार्यक्रमहरू केन्द्रित गरिएको जानकारी दिए भने कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावलीमा सुधार र कर्मचारी पदपूर्तिमा ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो । यस अवसरमा बोर्डको वार्षिक प्रकाशन ‘इन(फोकस)’ पनि विमोचन गरिएको छ ।

Share News