काठमाडौं । मधेस केन्द्रित दलहरू एकताको प्रयासमा लागिरहेका बेला मधेसको सबैभन्दा पुरानो दल नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा भने उक्त एकतामा नलाग्ने भएका छन् । कुनै समय राष्ट्रिय जनता पार्टीमा सँगै अध्यक्षता गरेका महन्थ ठाकुर र उपेन्द्र यादव फेरि एकतामा जोडिए पनि झा भने उक्त प्रयासमा सहभागी नहुने भएका हुन् ।
झा मधेसको सबैभन्दा पुरानो दल हुनुको नाताले अन्य मधेसी दल र ती दलका नेताहरूलाई सद्भावना पार्टीको झण्डामुनि गोलबन्द हुन आह्वान गर्छन् । उनले विगतमा समग्र मधेसका लागि पार्टीको झण्डा र नामसमेत थाती राखेर एकता गरे पनि त्यसले सार्थक परिणाम दिन नसकेको टिप्पणी गरेका छन् ।
मधेसका केही नेताहरूमा आफू बाहेक अरूको नेतृत्व स्वीकार गर्न नसक्ने प्रवृत्ति रहेको संकेत गर्दै झाले भने, 'पद र मृत्यु सँगै लैजाने चलन रहेसम्म यस्ता खाले एकताले कुनै पनि सार्थक परिणाम दिँदैन ।'
झाले मधेसका नेताहरूलाई सद्भावना पार्टीको झण्डा र चुनाव चिह्नमा गोलबन्द हुन आह्वान गर्दै भने, 'मधेसको सबैभन्दा पुरानो दलमा सबै गोलबन्द बनौँ, म नेतृत्व हस्तान्तरण गर्न आतुर छु ।' उनले थपे, 'मधेसको मसिहा सद्भावना पार्टी मात्रै हो ।'