काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटा मार्फत श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले पुतलीबजार नगरपालिका–४, रामकोश स्याङ्जामा रहेका विपन्न विद्यार्थीहरूलाई गरिएको सहयोगले उनीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोशाक तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँग हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, रामकोश फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।