५० प्रतिशत सुन नियन्त्रण गर्दै ब्रिक्स, विश्व वित्तीय संरचनामा नयाँ संकेत

काठमाडौं । ब्रिक्स देशहरूको अमेरिकी डलरप्रतिको भरोसा घट्दै गएको छ । उनीहरूले सुनलाई आफ्नो मुख्य आधार बनाउँदै लगेका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका जस्ता देशहरूको समूह ब्रिक्सले सुनको खरिद बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्  । 

आधिकारिक रूपमा ब्रिक्स देशहरूसँग विश्वको करिब २० प्रतिशत सुन छ । तर, यदि उनीहरूका सहयोगी देशहरूलाई समेत जोड्ने हो भने यो हिस्सा ५० प्रतिशतसम्म पुग्छ । यस मामिलामा रुस र चीन सबैभन्दा अगाडि छन् । सन् २०२४ मा चीनले ३८० टन र रुसले ३४० टन सुन उत्पादन गरेको थियो । सेप्टेम्बर २०२५ मा ब्राजिलले १६ टन सुन खरिद गर्यो, जुन सन् २०२१ पछि उसको पहिलो खरिद हो ।

वाईए वेल्थका निर्देशक अनुज गुप्ताका अनुसार ब्रिक्स देशहरू बढी सुन उत्पादन गरिरहेका छन् र कम बेचिरहेका छन् । साथै उनीहरूले अन्तर्राष्ट्रिय बजारबाट पनि सुन खरिद गरिरहेका छन् । सन् २०२० देखि २०२४ बीच ब्रिक्स देशका केन्द्रीय बैंकहरूले विश्वको ५० प्रतिशतभन्दा बढी सुन खरिद गरेका छन् ।

सेन्ट्रीसिटी वेल्थटेकका हेड अफ इक्विटिज सचिन जैसुजाका अनुसार ब्रिक्स देशहरूको सुन भण्डारण र खरिदमाथिको बढ्दो नियन्त्रण अमेरिकी डलरमा आधारित विश्वव्यापी वित्तीय प्रणालीमा तनावको संकेत हो । यद्यपि डलर अझै पनि विश्वको मुख्य रिजर्भ मुद्रा हो, तर अब त्यसको वर्चस्वमाथि प्रश्न उठ्न थालेका छन् । 

विश्व व्यापारमा ब्रिक्स देशहरूको अर्थतन्त्रको करिब ३० प्रतिशत हिस्सा छ । यस्तो अवस्थामा उनीहरूका मौद्रिक निर्णयहरूले विश्वव्यापी असर पार्छन् । पश्चिमी वित्तीय प्रणाली, विशेषगरी डलरमाथिको निर्भरता घटाउनु ब्रिक्सको पुरानो लक्ष्य रहँदै आएको छ ।

जैसुजाका अनुसार रुस–युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसको वैदेशिक मुद्रा भण्डारको ठूलो हिस्सा फ्रिज गरिदिएका थिए । यस घटनाले देशहरूलाई आफ्ना भण्डार कति सुरक्षित छन् भन्नेबारे पुनः सोच्न बाध्य बनायो । 

यसबाट डलरमा राखिएका वा विदेशी देशमा जम्मा गरिएका भण्डारहरू भू–राजनीतिक जोखिमको दायरामा पर्न सक्ने कुरा स्पष्ट हुन्छ, विशेषगरी राजनीतिक सम्बन्ध बिग्रिने अवस्थामा । त्यसपछि देशहरूले राजनीतिक रूपमा तटस्थ, भौतिक रूपमा विद्यमान र बाह्य नियन्त्रणबाट मुक्त सम्पत्तिलाई प्राथमिकता दिन थाले ।

जैसुजाका अनुसार ब्रिक्स देशका केन्द्रीय बैंकहरू सुनका सबैभन्दा आक्रामक खरिदकर्तामध्ये पर्छन् । चीन, रुस र भारत अहिले विश्वका सबैभन्दा ठूला आधिकारिक सुन भण्डार भएका देशहरूमा समावेश छन् । परिणामस्वरूप ब्रिक्स देशहरूको वैदेशिक मुद्रा भण्डारमा सुनको हिस्सा निरन्तर बढ्दै गएको छ, जबकि डलर सम्पत्तिमा उनीहरूको हिस्सा केही घटेको छ । 

सुनको मूल्यमा तीव्र र निरन्तर वृद्धि यही परिवर्तनसँग जोडिएको छ । यसले केवल मुद्रास्फीतिबाट जोगिने संकेत मात्र होइन, बलियो आधिकारिक मागलाई पनि देखाउँछ । सुनको मूल्यको यो प्रवृत्तिले बजारले सुनलाई खण्डित वित्तीय प्रणालीमा अन्तिम रिजर्भ सम्पत्तिका रूपमा छिटो चिन्न थालेको जनाउँछ । रिजर्भ मुद्रामाथिको भरोसा अब पहिलेजस्तो छैन ।

ब्रिक्स देशहरूले डलरमाथिको निर्भरता घटाउँदै लगेका छन् । पछिल्लो एक दशकमा ब्रिक्स देशहरूबीच स्थानीय मुद्रामा व्यापार भुक्तानीको हिस्सा निरन्तर बढेको छ । अहिले करिब एक तिहाइ व्यापार डलरमार्फत हुँदैन । भारत–रुस र चीन–ब्राजिल जस्ता द्विपक्षीय सम्झौताहरूले स्थानीय मुद्रामा व्यापारलाई प्रोत्साहन गरिरहेका छन् । यसको उद्देश्य लेनदेन लागत घटाउनु, प्रतिबन्धबाट जोगिनु र डलरको तरलतामाथिको निर्भरता सीमित गर्नु हो ।

एनरिच मनीका सीईओ पोनमुडी आरका अनुसार ब्रिक्स देशहरू र उनीहरूका सहयोगी देशहरूको वार्षिक सुन उत्पादनमा प्रभाव बढेको छ । उनीहरूले विश्व आपूर्तिको करिब आधा हिस्सा नियन्त्रणमा राखेका छन् । यो महत्त्वपूर्ण छ किनकि भविष्यको आपूर्तिमाथिको नियन्त्रणले रणनीतिक लचकता बढाउँछ, यद्यपि यसले तत्कालै विश्व मौद्रिक प्रणालीमा प्रभुत्व जमाउने संकेत भने दिँदैन । ब्रिक्स देशका केन्द्रीय बैंकहरूले हालै बढाएको सुन खरिदलाई मुख्यतः जोखिम व्यवस्थापन र विविधीकरण रणनीतिका रूपमा हेर्नुपर्छ ।

एनरिच मनीका विज्ञका अनुसार ब्रिक्स केन्द्रीय बैंकहरूले हालै बढाएको सुन खरिदलाई जोखिम व्यवस्थापन र विविधीकरण रणनीतिका रूपमा बुझ्नुपर्छ । सुन एक तटस्थ र प्रतिबन्ध–प्रतिरोधी सम्पत्ति हो । पछिल्ला भू–राजनीतिक घटनाहरूले धेरै उदीयमान अर्थतन्त्रहरूलाई यस सम्पत्तिमा भण्डार राख्दा जोडिने जोखिमहरूको पुनर्मूल्यांकन गर्न प्रेरित गरेका छन् ।

Share News