एनपीएलमा हानेका छक्का र चौकाबापत ५ हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज

काठमाडौं । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले झण्डै ५ हजार कफीको बिरुवा रोप्ने भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर रहेकाे यस कलेजले एनपीएलमा प्रहार भएका चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने निर्णय गरेको थियो ।

कलेजले एक छक्का बराबर ६ वटा र एक चौका बराबर ४ वटा कफीको बिरुवा रोप्ने घोषणा गरेको थियो । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार २०८२ को एनपीएलमा ४२७ वटा छक्का र वटा ६०७ चौका प्रहार भएको छ । सोही अनुसार कलेजले छक्का बराबर २ हजार ५६२ र चौका बराबर २ हजार ४२८ विरुवा रोप्दा जम्मा ४ हजार ९९० वटा विरुवा रोप्ने भएको हो ।

‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,’ कलेजका अध्यक्ष लक्ष्मण केसीले भने ।

यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन । उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ । 

कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो । कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी थरीका बिरुवा रोपेको थियो । त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुइवटा विरुवा रोपिने दर कायम गरिएको थियो ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।

Share News