काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) ले आयोजना गरेको पाँचौं वार्षिक एथलेटिक्स प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ ।
राजधानीका विभिन्न विद्यालयका सयौं विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न प्रतियोगितालाई इम्बार्क अनम्याथले मुख्य प्रायोजकको रूपमा साथ दिएको थियो ।
यस वर्षको प्रतियोगितालाई विशेष बनाउने पक्ष खेलकुदसँगै गणितको व्यावहारिक प्रयोग हो ।
विद्यार्थीहरूले दौड, हामफाल र रिलेजस्ता खेलमा सहभागी हुँदै समय, दूरी, औसत गति तथा चक्रको गणना स्वयं गरेर खेल र पढाइबीचको प्रत्यक्ष सम्बन्ध अनुभव गरे ।
कक्षाकोठामा सिकेका सूत्र र अवधारणालाई मैदानमै प्रयोग गर्न पाउँदा विद्यार्थीहरूमा सिकाइप्रतिको रुचि थप बढेको क्यूकेएसले जनाएको छ ।
कार्यक्रमका क्रममा बोल्दै इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले खेल र शिक्षाको संयोजनले सिकाइलाई अझ प्रभावकारी बनाउने बताए ।
रिले दौडमा विद्यार्थीहरूले गणितीय तर्क र विश्लेषण प्रयोग गरी टोलीको रणनीति तयार गरेका थिए ।
मुख्य प्रायोजक इम्बार्क अनम्याथले शारीरिक तन्दुरुस्तीका साथै विश्लेषणात्मक र समस्या समाधान क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमलाई समर्थन गरेको जनाएको छ ।
प्रतियोगिताका विभिन्न विधा र वर्गका विजेताहरूलाई पुरस्कृतसमेत गरिएको थियो ।