निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत, कसको हिस्सा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिरसम्ममा) १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ४ वटा लघु निर्जीवन बीमा कम्पनीले सो अवधिमा ४९ करोड ६० लाख रुपैयाँ कुल व्यवसाय आर्जन गरेका छन् । 

१४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा मोटर बीमामार्फत सर्वाधिक व्यवसाय आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा बीमा कम्पनीहरूले मोटर बीमामार्फत ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल व्यापारमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत रहेको छ ।

दोस्रो धेरै व्यापार सम्पत्ति बीमामार्फत ४ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.८४ प्रतिशत रहेको छ । तेस्रोमा व्यापार इन्जिनियरिङ र ठेक्का बीमामार्फत २ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कुल व्यापारमा इन्जिनियरिङ बीमाको हिस्सा १४.५८ प्रतिशत रहेको छ ।

कम्पनीहरूले विविध बीमामार्फत २ अर्ब ५ करोड ४१ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । जुन कुल व्यापारमा विविधको हिस्सा १०.२८ प्रतिशत रहेको छ । त्यस्तै, बीमा कम्पनीहरूले सामुन्द्रिक बीमामार्फत १ अर्ब १७ करोड ९९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । कुल व्यापारमा सामुन्द्रिक बीमाको हिस्सा सामुन्द्रिकको ५.९० प्रतिशत रहेको छ ।

यस्तै, मंसिरसम्ममा हवाई बीमामार्फत ८६ करोड ३ लाख रुपैयाँ संकलन गरेका छन् । कुल व्यापारमा हवाई बीमाको हिस्सा ४.३० प्रतिशत छ । कम्पनीहरूले ५ महिनामा कृषि तथा बाली बीमामार्फत ७१ करोड ९७ लाख रुपैयाँ र लघु बीमामार्फत ५० करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा कृषि तथा बालीको ३.६० प्रतिशत र लघुको २.५२ प्रतिशत रहेको छ । 

null

Share News