नेपाल कम्युनिभर्सिटी र केयूको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिभर्सिटी र काठ्माडौं विश्वविद्यालय (केयू) बीच समुदायमा आधारित ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रम सुरु गर्ने सहमति भएको छ । शुक्रबार दुईपक्षबीच स्नातकोत्तर तहमा ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता कार्यक्रम सुरु गर्ने सहमति भएको हो ।

यो कार्यक्रमले देश र युवाको वर्तमान आवश्यकतालाई केन्द्रमा राखी नेपालमा शिक्षाको परिदृश्यलाई पुनर्परिभाषित गर्ने अपेक्षा गरिएको छ । समुदायमै गएर अध्ययन गर्ने, सिक्ने र सिकेका कुरा अभ्यास गर्ने हेतुले तयार गरिएको कार्यक्रममा विद्यार्थीहरू सीप सिक्न पाउने छन् । आफ्नै समुदायमै बसोबास गरी, स्थानीय परिवेशमा घुलमिल हुँदै स्थानीय विषयवस्तुहरूको अध्ययन गर्नेछन्।

समुदाय आफैँमा एक पाठ्यक्रम हो भन्ने दर्शनमा आधारित यस कार्यक्रममा विद्यार्थीहरूले जम्मा १० हप्ता  बिताउनेछन्। यस अवधिमा उनीहरूले वैश्विक र सैद्धान्तिकसँगै स्थानीय समुदाय, सामाजिक उद्यम र स्थानीय तहमा भएका विभिन्न पहलहरूमा प्रत्यक्ष संंलग्न भएर नेपालका विविध सामाजिक र आर्थिक यथार्थहरूको अनुभव प्राप्त गर्नेछन्। 

समुदायबाट प्राप्त सिकाइलाई शैक्षिक रूपमा अन्तरसम्बन्धित बनाइने र त्यसका लागि प्रत्येक क्षेत्रमा विद्यार्थीहरूले उद्यमशीलता, सामाजिक विज्ञान, प्रविधि, समुदाय–आधारित परियोजना तथा समग्र विकाससम्बन्धी अन्तर विषयगत पाठ्यक्रमहरू अध्ययन गर्नुपर्नेछ ।

सम्झौता कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले विभिन्न क्षेत्रहरूमा प्रत्यक्ष अनुभव र व्यावहारिक सिकाइसँग शैक्षिक अध्ययनलाई जोड्दै सामाजिक रूपमा सचेत विद्यार्थी उत्पादन गर्नु नै यस कार्यक्रमको उद्देश्य भएको बताए । 

यसले विद्यार्थीलाई आफू र समुदायलाई बुझ्न, आवश्यक सीप विकास गर्न तथा उद्यमशील चेतनाको विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको । नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम आर्यालले यस कार्यक्रम सामाजिक विज्ञान, प्रविधि र उद्यमशीलताका पाठ्यक्रमहरू समेटिएको नेपालको पहिलो अन्तर विषयगत स्नातकोत्तर कार्यक्रम भएको बताए । 

उनले भने, ‘कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आफूलाई गहिरो रूपमा आत्मपरीक्षण गर्न, सामाजिक–राजनीतिक तथा आर्थिक गतिशीलताहरूको विश्लेषण गर्न, प्राविधिक सीप हासिल गर्न र उद्यमशील सोच विकास गर्न सक्षम हुनेछन्।’ यो स्नातकोत्तर कार्यक्रम २०२६ को अक्टोबरबाट सुरु हुने छ ।

Share News