म २७ वर्षदेखि निरन्तर नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भएको छु । बास्तवमा म मेरो श्रीमतीसँग भन्दा महासंघसँग नजिक छु । मैले श्रीमतीलाई भन्दा बढी समय महासंघलाई दिएको छु ।
म आज विगतको बारेमा केही बोल्छु । इतिहास विर्सने मान्छे नेता बन्न सक्दैन, अगाडि बढ्न सक्दैन ।
महेशलाल प्रधान महासंघको अध्यक्ष हुँदा महासंघको अफिसमा कोठा भन्दा ठूलो टेबुल थियो । भनाईको मतलब टेबुल ठूलो होइन, टेबुलको तुलनामा कोठा धेरै सानो थियो । महासंघको अफिस सारै सानो थियो । उहाँले अफिस ठूलो र व्यवस्थित बनाउन जोड दिनु भयो । पञ्चकन्य ग्रुपले ठूलो सहयोग गर्यो । मेरो बुबाले पनि महत्वपूर्ण सहयोग गर्नुभयो । अरु धेरैले सहयोग गरे । त्यतिबेलाको सचिवलय धेरै राम्रो बन्यो ।
महेशलाल अध्यक्ष भएको बेलामा भारतले नेपालमा नाकाबन्दी गर्यो । मलाई याद छ, त्यो बेला नेपाल वायुसेवा निगमले बेलुका भएपछि सबै सिट निकालेर बंगलादेशबाट तेल बोकेर नेपाल ल्याउँथ्यो । महेशलाल यस्तो महासंघको अध्यक्ष हुुनुहुन्थ्यो जसले निजी क्षेत्रको उद्योग बन्द हुनु हुन्न र सामान आवत जावत गर्नु दिनुपर्छ भनेर जोड दिनु भयो । त्यतिबेला रमेशनाथ शर्मा वाणिज्य मन्त्री हुनुहुन्थ्यो । महासंघका अध्यक्ष महेशलालको जोडबलमा नाकाबन्दीको समयमा पनि निजी क्षेत्रलाई डिजेल उपलब्ध गराउनुभएको थियो । त्यतिबेला देशमा त्यत्रो समस्या हुँदा पनि हाम्रो उद्योग चले । महासंघको ठूलो काम थियो त्यो ।
मलाई अझै याद छ, विनोद चौधरीको कार्यकाल । उहाँको नेतृत्वमा महासंघको भवन बनाउँन पहल भयो । उहाँले मोहन गोपाल खेनातलाई विशेष स्थान दिएर पैसा संकलन गर्नुभयो । हामीले जग्गा किन्यौ र भबन बनायौ । त्यहि भवनमा महासंघको अहिलेको सचिवालय बसेको छ ।
पद्म ज्योति अध्यक्ष भएको समय पनि ऐतिहासिक रह्यो । उहाँले भारतीय लगानी नेपाल भित्र्याउनु भनेर महासंघ र सीआईआईसँग मिलेर संयुक्त आर्थिक परिषद् स्थापना गर्नुभयो । भारतीय लगानी भित्र्याउने र निर्यात बढाउने त्यतिबेलाको उदेश्य थियो । डावर नेपाल, यूनिलिभर, सूर्य नेपाल लगायत कम्पनी नेपालमा स्थापना हुनुमा उहाँको ठूलो देन छ ।
उहाँकै पालामा नेपाल भारत व्यापार सम्झौता भयो । सम्झौता गर्न जाने टोलिमा म पनि थिए । त्यो काम त्यति सजिलो थिएन, बडो अफ्ठारो अवस्था थियो । नरसिंह राव भारतका प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । दुई देशका प्रधानमन्त्रीसँगै निजी क्षेत्रका प्रतिनिधि उभ्याएर त्यो सम्झौता भयो । दुई देशबीचको सम्झौतामा निजी क्षेत्र प्रत्यक्ष सहभागि गराईएको त्यो पहिलो घट्ना थियो । महासंघको छवि त्यति राम्रो भएको थियो ।

आन्दराज मुल्मीको समयमा महासंघ फुट्ने अवस्था आयो । रविभक्त र प्रदिप श्रेष्ठबीच चुनाव हुने संभावना थियो । विवाद यसरी चर्कियो कि महासंघ फुट्छ नै भन्ने स्थिति भएको थियो । तर उहाँले आफ्नो पक्षको अध्यक्षका उम्मेदवार रविभक्तलाई बसाएर, प्रदिपकुमार श्रेष्ठलाई निर्विरोध अध्यक्ष बनाउनु भयो । नेतृत्वमा हुनु पर्ने गुण त्यो हो, आनन्ददाईले देखाउनुभयो ।
प्रदीप कुमार श्रेष्ठ एकदमै योग अध्यक्ष । उहाँले धेरै राम्रो काम गर्नुभयो । ट्रेड यूनियन दिवस मनाउने उद्योग दिवस नमनाउने भनेर उहाँले सरकारलाई प्रश्न गर्नुभयो । उहाँकै पालादेखि हो उद्योग वाणिज्य दिवस मनाउन शुरु भएको ।
रविभक्त श्रेष्ठ महासंघको अध्यक्ष भएकै समयमा उहाँ मन्त्री बन्नुभयो । निजी क्षेत्रको उचाई बढ्यो । नेपाल सरकारभित्र यसको महत्व कत्ति हुँदो रहेछ भनेर उहाँले स्थापित गर्नुभयो । विनोदबहादुर श्रेष्ठ अध्यक्ष भएको समयमा नेपालीको लगानी मात्रै हैन, विदेशीको मात्रै हैन, एनआरएनको लगानी भित्र्याउँनुर्छ भनेर लाग्नुभयो । एनआरएनको लगानी भित्र्याउने अवधारण सुरु भयो र एनआरएनको लगानी नेपालमा भित्र्न थाल्यो । यो पनि महासंघले गरेको राम्रो काम हो ।
त्यसपछि चण्डीराज ढकाल अध्यक्ष बन्नुभयो । बडा अप्ठ्यारो अवस्था थियो त्यतिबेला पनि । टे«ड युनियएन बडा संगठित रुपले अगाडि आएको थियो । चण्डीजीको समयमा गार्मेन्ट इण्डष्टिलाई बडा अप्ठ्यारोमा थियो । उहाँले ट्रेड युनिएनसँग मिलेर अगाडि बढुनुपर्छ भनेर भन्नुभयो । हामीले सहमति गरेर अगाडि बढ्यो ।
कुशकुमार जोशी ध्यक्ष हुँदा पनि नेपाल बडो अप्ठ्यारो अवस्थामा थियो । माओवादीले अनिश्चित कालिन हड्ताल गर्यो । ७ दिनसम्म नेपाल बन्द भयो । त्यो बन्द तोड्ने काम महासंघको अगुवाईमा भयो । बसन्तपुरमा गरिएको शान्ति र्याली ऐतिहासिक थियो । त्यतिबेला राजनीतिक दलका शिर्ष नेताहरुबीच बोलचाल नै बन्द भएको, राजनीतिमा ठूलो गतिरोध आएको बेलामा निर्णयक वहस महासंघले गरायो । सबै दलहरुका शिर्ष नेताहरुलाई एउटै हलमा राखेर, राष्ट्रिय टेलिभिजनहरुमा लाईभ प्रसारण गरिएको निर्णयक निकै वहस सफल भयो ।
मेरो पालामा के भयो मैले बोल्ने कुरा भएन ।
मैले भन्न खोजेको को हो भने महासंघ हामी कहाँ थियौ । अहिले काहाँ पुग्यौ भन्न खोजेको हो । आजको दिनमा पनि महासंघ अफ्ठारो अवस्थामा आउँदा कसले बचाउँने ? सीएनआई जस्ता संस्था छन्, चेम्बर अफ कमर्श छ । सबै दलले भातृ संस्था झै व्यवसायिक संस्था खोल्न थालेका छन् । अब निजी क्षेत्रको साझा मुद्दामा कसले बोल्ने ? थरीथरीका संस्थाले थरी थरीका कुरा गर्छन, सरकारले कसलाई मान्ने, कसलाई नमान्ने ? निजी क्षेत्रको आवाज कसले र कहाँ उठाउने भन्ने महत्वपूर्ण प्रश्न छ ।
अध्यक्षको कोठामा एउटै मात्रै कुर्सी थियो, हुनुपथ्र्यो । अहिले महासंघको अध्यक्षको कोठामा २/३ वटा कुर्सी छन् भन्ने मैले सुनेको छु । अध्यक्षको कोठामा धेरै कुर्सी राखिएपछि महासंघ कमजोर बनेको छ ।
मैले महासंघ कसरी बुझेको छु भने पूर्वअध्यक्षहरुले महासंघ अप्ठ्यारो परेको बेलामा सुझाव दिने हो । मैले अध्यक्ष पशुपति मुरारकालाई पटक पटक विधान संशोधन गर्नुअघि सम्झाए । के हामी तयार छौ भनेर ? पूर्व अध्यक्षज्युहरु हुनुहुन्छ, उहाँहरुले यो संस्था बुझ्नु भएको छ, उहाँहरुसँग सल्लाह गर्नुपर्छ भनेर मैले ४/५ पटक सल्लाह दिएँ । जब सल्लाह नै मान्दैन के सल्लाह दिने ?
विधान संशोधन गरेर हिजो गल्ती भएकै हो । हिजोको गल्तीले भोली महासंघमा नव्रिगियोस भन्ने मेरो चाहना हो । अब गल्ती नहोस भन्ने मेरो भनाइ होस् । विधान सांसोधन भयो । विधान बनेको छैन । अगाडि बढेको छैन । विधानले के भन्छ भने जवबसम्म प्रदेशको चुनाव हुँदैन तबसम्म यो चुनाव हुनै सक्दैन । कि विशेष कारण हुनुपर्यो । म उहाँहरुलाई सोध्न् चाहन्छु । विशेष कारण के थियो र प्रदेशको चुनाव नगरेको पहिला ? किन ? जालझेल किन ?
मैले सुनेको कतिसम्म सत्य हो मलाई थाहा छैन । अहिलेको बरिष्ठ उपाध्यक्ष भवानी राणा भैरवहाको चुनावी घोषणा सभामा जान चाहानु भएको थिएन । प्रेसर गरियो, जानै पर्ने, ड्यासमा बस्नै पर्ने, फोटो देशभर देखाउनै पर्ने । जति सम्म जायाज अभ्यास हो ? मलाई साथीहरुले भन्नुभयो–किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा नजान धेरैलाई दवाव दिइयो । मतदातालाई उम्मेदवारको कुरै सुन्न हुन्न भन्ने ? यसले महासंघलाई बलियो बनाउँछ कि कमजोर ? सोच्ने बेला आएको छ । तपाईहरुले सोचेर निर्णय गर्ने बेला आएको छ । हामीले लोभ र लालस देखाउन चाहान्न । हामी कसैलाई दवाव दिन चाहान्नौं । नेता जम्माउने तपाईहरुले हो, सहि मान्छे छानेर भोट हाल्नुहोस् ।
(किशोर प्रधानको समूहले आइतबार आयोजना गरेको कार्यक्रममा बैद्यले व्यक्त गरेको विचार)