काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिर महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्बमाथि कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गरेर १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका हुन् ।
बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै २ लाख ५९ हजार ९८ पोलिसी जारी गरेर कुल ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । मंसिर मसान्तसमममा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले ५ महिनाको अवधिमा १ लाख ७ हजार ९२० बीमालेख जारी गरेर कुल २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले १ लाख ३० हजार १६७ बीमालेख जारी गरी २ अर्ब १५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख २९ हजार ६४६ पोलिसी जारी गरेर २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
