बैंकहरूको औसत लाभांश दर ११ प्रतिशत, क्षमताभन्दा १०.८९ अर्ब रुपैयाँ कम

७ बैंकका सेयरधनीहरूको हात रित्तो

काठमाडौं । १३ वटा वाणिज्य बैंकहरूले साढे २४ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये १३ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई २४ अर्ब ६४ करोड ६ लाख २६ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्ने भएका हुन् । जसमा ८ अर्ब ६५ करोड २५ लाख २ हजार रुपैयाँ बोनस सेयर र १५ अर्ब ९८ करोड ८१ लाख २४ हजार रुपैयाँ नगद लाभांश रहेको छ ।

लाभांश घोषणा गरेका १३ बैंकले क्षमता भन्दा १० अर्ब ७५ करोड ५३ लाख ९३ हजार रुपैयाँ कम वितरण गर्ने भएका हुन् । गत आर्थिक वर्ष २०८१/८२ को असारसम्मको सार्वजनिक तथ्याङ्कअनुसार लाभांश घोषणा गरेका १३ बैंकको लाभांश क्षमता ३५ अर्ब ३९ करोड ६० लाख रुपैयाँ थियो । सो आधारमा बैंकहरूको औसत लाभांश दर १६.३७ प्रतिशत हाराहारी थियो । तर, घोषणा गरेको लाभांशका आधारमा बैंकहरूको औसत लाभांश दर ११ प्रतिशत कायम हुन पुगेको छ । 

बैंकर अनिल ज्ञवालीले बैंकहरूको लाभांश दर घट्नुको मुख्य कारण प्रोभिजनिङ वृद्धि भएको बताए । उनका अनुसार अर्थतन्त्र चलायमान भई व्यावसायिक गतिविधि बढेमा प्रोभिजनिङ राइट–ब्याक हुने र त्यससँगै आगामी दिनमा बैंकहरूको लाभांश दर बढ्न सक्ने सम्भावना रहन्छ ।

उनले भने, ‘कर्जा बिग्रिँदा निष्क्रिय कर्जा (एनपीए) बढ्छ । एनपीए बढेपछि प्रोभिजन पनि बढ्ने भएकाले नाफामा दबाब पर्छ । यसैबीच राष्ट्र बैंकले बैंकहरूको विभिन्न व्यवसायमा सीमा तोकेको छ । ती सीमाका कारण पनि लोन लस प्रोभिजन बढेर वितरणयोग्य नाफा घटेको हो ।’

उनका अनुसार बैंकहरूको रिटर्न रेट पनि क्रमशः घट्दै आएको छ, त्यसैले बैंकहरूले रिटर्नमा थप ध्यान दिनु आवश्यक छ । विगतको तुलनामा बैंकहरूको पुँजी उल्लेख्य रूपमा वृद्धि भएको उनले बताए । 

‘पहिले बैंकहरूको पुँजी २-४ अर्ब रुपैयाँ मात्रै थियो, अहिले धेरै बढिसकेको छ । क्यापिटल रिस्क वेइटेज एसेट र क्यापिटल क्याल्कुलेसन समेत क्रमशः परिष्कृत हुँदै आएको छ,’ बैंकर ज्ञवालीले भने ।

आर्थिक वृद्धिदर कमजोर रहँदा बैंकहरूको आम्दानीमा दबाब परेको उनको भनाइ छ । राष्ट्र बैंकले विभिन्न कमिसनमा कडाइ गरेकाले पनि लोन लस प्रोभिजन बढ्दै लाभांश दर घट्न पुगेको उनले बताए ।

७ बैंकका सेयरधनीहरूको हात रित्तो

गत वर्षको नाफाबाट ७ वटा बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएका छन् । प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), हिमालयन बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने भएका हुन् ।

प्रभु, राष्ट्रिय वाणिज्य र एनआईएमबिको लाभांश क्षमता भएपनि वितरण नगर्ने भएका हुन् । तर, हिमालयन, नेपाल बैंक, कुमारी र एनआईसी एशियाको भने लाभांश क्षमता ऋणात्मक छ । 

प्रभु बैंकको ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १.९४ प्रतिशत र एनआईएमबिको १.४४ प्रतिशत लाभांश क्षमता थियो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बैंकहरूको लाभांश दर घट्नुमा प्रोभिजन वृद्धि र निर्देशित कर्जासम्बन्धी समस्यालाई प्रमुख कारणका रूपमा औंल्याए । उनका अनुसार बैंकहरूको पुँजी वृद्धि गरिएपछि व्यवसाय विस्तार आक्रामक रूपमा भयो । पुँजी बढेपछि बैंकहरूले तीव्र रूपमा कर्जा विस्तार गरे । तर, पछि ती व्यवसायहरू बिग्रँदा ठूलो मात्रामा प्रोभिजन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

‘राष्ट्र बैंकको निर्देशित कर्जाले पनि बैंकहरूको नाफामा दबाब सिर्जना गरेको छ । विगतमा कृषि र ऊर्जामा मात्रै निर्देशित कर्जा व्यवस्था रहे पनि पछि साना तथा मझौला उद्यम (एसएमई) कर्जासमेत निर्देशित कर्जामा समावेश गरियो,’ उनले भने, ‘कृषि क्षेत्रमा समेत तोकिएको सीमासम्म कर्जा प्रवाह गर्न कठिन भइरहेको थियो । सुरुमा राष्ट्र बैंकले समय दिँदै आएको थियो, तर निश्चित अवधिभित्र अनिवार्य रूपमा तोकिएको प्रतिशत कर्जा दिनुपर्ने व्यवस्था गरेपछि बैंकहरू आक्रामक रूपमा अघि बढ्न बाध्य भए ।’ 

उनका अनुसार सो क्रममा पर्याप्त जोखिम विश्लेषण नगरी कर्जा लगानी गरियो, जुन अहिले बिग्रँदै गएको छ । अध्यक्ष पौडेलले सुरक्षित ठानेर लगानी गरिएका कर्जासमेत हाल समस्याग्रस्त बनेको बताए । 

खराब कर्जा वृद्धि र ब्याज असुलीमा समस्या देखिनु पनि लाभांश दर घट्नुको अर्को कारण रहेको उनको भनाइ छ । 'रिस्ट्रक्चरिङ र रिसेड्युलिङ गरिँदैछ । त्यसमाथि राष्ट्र बैंकको कडाइ पनि थपिएको छ । बैंकहरूको वास्तविक नाफा नै नभएको अवस्थामा लाभांश कसरी वितरण गर्न सकिन्छ ?,’ उनले प्रश्न गरे । 

उनले यस अवस्थाको जिम्मेवारी बैंकहरूको मात्र नभएको उल्लेख गर्दै अब सबै पक्षले संयमित र जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

nullकुन बैंकको लाभांश कति ? 

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार रुपैयाँ नगद गरी कुल ८ प्रतिशत अर्थात् ९२ करोड ९७ लाख ८ हजार रुपैयाँ लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।

एभरेष्ट बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशतका दरले ७७ करोड ६६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १४ प्रतिशतका दरले १ अर्ब ८१ करोड २२ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल २० प्रतिशत अर्थात् २ अर्ब ५८ करोड ८९ लाख ३८ हजार रुपैयाँ लाभांश वितरण गरेको छ । गत कात्तिक १२ गते सम्पन्न ३१औँ वार्षिक साधारण सभाले पारित गरेको थियो ।

सानिमा बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले ९९ करोड ८६ लाख रुपैयाँ नगद लाभांश वितरण गरेको छ । गत कात्तिक २ गते सम्पन्न २१औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

सिटिजन्स बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ६८ लाख ५० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । मंसिर १२ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश वितरण गरेको हो । कात्तिक ३० गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ। 

ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ३ अर्ब ४ करोड ९२ लाख ६८ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । कात्तिक २६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँको करसहित १९ प्रतिशतका दरले १ अबै ९० करोड ८० लाख ४९ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो । मंसिर २९ गते सम्पन्न ३९औँ वार्षिक साधारण सभा लाभांश पारित गरिसकेको छ ।  

कृषि विकास बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँको ३.२५ प्रतिशतका दरले ६२ करोड ६८ लाख ५७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशतका दरले १ अर्ब ८८ करोड ५ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल १३ प्रतिशत अर्थात् २ अर्ब ५० करोड ७४ लाख ३३१ हजार रुपैयाँ लाभांश वितरण गरेको छ । मंसिर २९ गते भक्तपुरमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।

लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँको १० प्रतिशतका दरले २ अर्ब ४३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशतका दरले १२ करोड ८१ लाख ३९ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् २ अर्ब ५६ करोड ३६ लाख ८७ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस १४ गते २५औँ वार्षिक साधारण सभा बोलाएको छ । 

एनएमबि बैंकले चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँको ५ प्रतिशतका दरले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ६६ लाख ७० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २४ गते ३०औँ साधारण सभा बोलाएको छ ।

नेपाल एसबिआई बैंकले चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४३ करोड ५९ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५ प्रतिशतका दरले ५४ करोड ४९ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ९ प्रतिशत अर्थात् ९८ करोड ९ लाख २४ हवार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस १८ गते ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । 

नबिल बैंकले चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले ३ अर्ब ३८ करोड २१ लाख २४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २८ गते ४१औँ वार्षिक साधारण सभा बोलाएको छ ।

प्राइम बैंकले चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँको ८ प्रतिशतका दरले १ अर्ब ५५ करोड २२ लाख ६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले ८ करोड १६ लाख ९५ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ३६ लाख ९६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस ३० गते १८औँ वार्षिक साधारण सभा बोलाएको छ । 

क्षमताभन्दा कम लाभांश

सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्ष एभरेष्ट बैंकको लाभांश क्षमता ३८.३७ प्रतिशत थियो । तर, बैंकले २० प्रतिशत मात्रै लाभांश वितरण गरेको छ । 

यस्तै, २०.४७ प्रतिशत लाभांश क्षमता रहेको सानिमाले ७.३६ प्रतिशत, १९.८५ प्रतिशत क्षमता रहेको स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत, १८.४२ प्रतिशत क्षमता रहेको कृषि विकासले १३ प्रतिशत, १८.४ प्रतिशत क्षमता भएको एनएमबिले १० प्रतिशत, १७.६४ प्रतिशत क्षमता भएको नबिल बैंकले १२.५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएका हुन् । 

यस्तै, १४.३३ प्रतिशत क्षमता रहेको प्राइम बैंकले ८.४२ प्रतिशत, १४.११ प्रतिशत क्षमता भएको ग्लोबल आइएमईले ८ प्रतिशत, १३.२२ प्रतिशत क्षमता भएको सिद्धार्थले १०.५३ प्रतिशत, १२.३४ प्रतिशत क्षमता भएको लक्ष्मी सनराइजले १०.५३ प्रतिशत, ११.२९ प्रतिशत क्षमता भएको नेपाल एसबिआईले ९ प्रतिशत र ९.२३ प्रतिशत क्षमता भएको माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । 

तर, सिटिजन्स बैंकले भने लाभांश क्षमता भन्दा बढी लाभांश वितरण गरेको हो । सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्षको नाफाबाट सिटिजन्सको लाभांश क्षमता ५.२५ प्रतिशत थियो । तर, बैंकले थोरै भएपनि ५.२६ प्रतिशत लाभांश वितरण गरेको हो । राष्ट्र बैंकबाट स्वीकृत हुँदा एडजस्टमेन्ट भएर आउँदा लाभांश बढेको बैंकले जनाएको छ । 

एक बैंकका सीईओका अनुसार खराब कर्जा बढेका कारण बैंकहरूको नाफामा प्रत्यक्ष असर परेकाले लाभांश पनि घटेको छ । अपेक्षा अनुसार ऋण असुली हुन नसक्दा नाफा घट्ना जाने र त्यसको प्रत्यक्ष असर सेयरधनीहरुले पाउने लाभांशमा पर्ने गरेको उनको भनाइ छ ।

‘बैंकहरुको ब्याज आम्दानी बाहेकको अन्य आम्दानी भइरहेको छैन । साथै पछिल्लो समय कर्जा विस्तार न्यून छ । साथै विगतमा प्रवाह गरेका कर्जामा पनि प्रोभिजन बढेकाले त्यसको असर नाफामा परेको छ,’ उनले भने ।

Share News