वस्तेलीले गरे रूपन्देहीमा रक्तदान

काठमाडौं । गुल्मी धुर्कोट वस्तु रूपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । समाजले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा वस्तुबाट रूपन्देहीमा बस्नेहरूको बाक्लो उपस्थितिमा रक्तदान गरिएको समाजका सचिव भानुभक्त पाण्डेले जानकारी दिए ।

रक्तदान कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन चिया–नास्ता तथा खाना व्यवस्थापन गर्ने स्वयंसेवकहरू, टेन्ट, कुर्सी तथा साउन्ड सिस्टमको व्यवस्थापनमा सहयोग गर्ने सबै सहयोगीहरूप्रति समाजले उच्च सम्मान र आभार व्यक्त गरेको सदस्य जीवलाल भण्डारीले बताए ।

समाजका कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्णको भूमिकाको समाजले खुलेर प्रशंसा गरेको छ।

उक्त कार्यक्रममा जम्मा ५३ जना रक्तदाताहरूले रक्तदान गरी मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याएका छन् । जीवन बचाउने यस पवित्र कार्यमा सहभागी सबै रक्तदाताहरूलाई समाजले विशेष सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको छ । रक्तदानजस्तो पुण्य कार्यले आपत्कालीन अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने विश्वास समाजले व्यक्त गरेको छ ।

Share News