काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीवार (आज) पनि बस्दैछ । बुधबारबाट सुरु भएको बैठक आज मध्यान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बुधवारको बैठकमा पार्टीको १५औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग प्रमुख रूपमा उठेको थियो । बैठकमा सहभागी अधिकांश सदस्यहरूले हालको कार्यतालिका व्यवहारिक नभएको भन्दै यसलाई समयसापेक्ष र कार्यान्वयनयोग्य बनाइनुपर्ने धारणा राखेका थिए ।
आजको बैठकमा नेता डा. शेखर कोइरालाले कार्त्तिक अन्तिममा छलफल चलाएको संक्षिप्त महाधिवेशनमा छलफल हुने एक पदाधिकारीले बताए ।
कोइरालाले पार्टीमा निर्वाचन पहिले १५ औं महाधिवेशन नगर्ने र विशेष महाधिवेशन गर्ने दुई अडानका बीच मंसिर २ गते संक्षिप्त महाधिवेशनको छलफल चलाएका थिए ।
कांग्रेसका एक पदाधिकारीले भने, ‘डेढ महिना खेर फालेर हामी फेरि डा. कोइरालाकै प्रस्तावमा आएका छौं ।’
बुधवारको बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रक्रिया र क्रियाशील सदस्यतासम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गरेका थिए । उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जाने प्रस्ताव प्रस्तुत गरेका थिए । ती पदाधिकारीका अनुसार समय छँदै सुन्न नखोजिएको प्रस्तावमा समय घर्किएपछि छलफल सुरु भएको छ ।
महामन्त्री थापाको उक्त प्रस्तावमाथि नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने जनाइएको ती नेताले बताए । ती नेताका अनुसार बैठकबाट महाधिवेशनको संशोधित कार्यतालिकासम्बन्धी ठोस निर्णय आउने अपेक्षा गरिएको छ ।
पार्टीका प्रवक्ता डा. महतका अनुसार छलफल सुरु भएको छ । कार्य सम्पादन समितिले पक्कै राम्रो निर्णय गर्ने छ।
नेपाली कांग्रेसको वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गरेर ७ तहको अधिवेशन हुन्छ । संक्षिप्त महाधिवेशनको प्रस्तावमा वडा, संघीय र केन्द्रीय महाधिवेशन निर्वाचन पहिले गर्ने र बाँकी अधिवेशन निर्वाचन पछि गर्ने प्रस्ताव गरिएको छ ।