काठमाडौं । अमेरिकी सवारी सुरक्षा नियामक निकायले बुधबार टेस्ला मोडेल थ्री कम्प्याक्ट सेडानमाथि सम्भावित दोषसम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको छ ।
आपतकालीन अवस्थामा ढोका खोल्न प्रयोग गरिने ‘इमर्जेन्सी डोर रिलिज’ नियन्त्रणहरू सजिलै भेटिन नसक्ने वा स्पष्ट रूपमा चिनिन नसक्ने सम्भावित जोखिम देखिएपछि नियामक निकायले टेस्लासम्बन्धी अनुसन्धान सुरु गरेको हो ।
दोष अनुसन्धान कार्यालय अफिस अफ डिफेक्ट्स इन्भेस्टिभेसनका अनुसार यो अनुसन्धान सन् २०२२ मोडेल वर्षका अनुमानित १ लाख ७९ हजार ०७१ वटा सवारीसाधनमा लागू हुनेछ ।
एजेन्सीले डिसेम्बर २३ मा दोषसम्बन्धी उजुरी प्राप्त गरेपछि अनुसन्धान सुरु गरेको हो । उक्त उजुरीमा सवारीसाधनको यान्त्रिक ढोका रिलिज लुकाइएको, लेबल नभएको र आपतकालीन अवस्थामा सजिलै पत्ता लगाउन नसकिने आरोप लगाइएको छ ।
यस विषयमा प्रतिक्रिया दिन टेस्लाले तत्काल कुनै जवाफ दिएको छैन ।
टेस्लाका सवारीसाधनहरू मुख्यतया इलेक्ट्रोनिक ढोका ल्याचमा निर्भर हुन्छन्, जसले परम्परागत यान्त्रिक ह्यान्डलको सट्टा बटनमार्फत ढोका खोल्छन् ।
यद्यपि टेस्लाले आपतकालीन अवस्था वा विद्युत् आपूर्ति बन्द हुँदा प्रयोगका लागि म्यानुअल ढोका रिलिज उपलब्ध गराएको भए पनि विज्ञहरूले लामो समयदेखि यी यान्त्रिक रिलिजहरू सधैं देखिने, स्पष्ट रूपमा लेबल गरिएको वा सहज रूपमा बुझिने नहुने बताएका छन् । विशेषगरी पछाडिको सिटमा बस्ने यात्रुमा यो समस्या देखिएको छ ।
गत महिना विस्कन्सिनमा भएको भीषण आगलागीसहितको दुर्घटनामा टेस्ला मोडेल एसका पाँचै जना यात्रुको मृत्यु भएपछि टेस्लामाथि मुद्दा दायर गरिएको थियो । ढोका नखुल्ने डिजाइन त्रुटिका कारण उनीहरू सवारीभित्रै फसेको आरोप लगाइएको छ ।
यसैगरी, गत वर्ष नोभेम्बरमा सान फ्रान्सिस्को नजिकको उपनगरमा भएको साइबरट्रक दुर्घटनामा जलेको सवारीभित्रै थुनिएर दुई कलेज विद्यार्थीको मृत्यु भएको भन्दै उनीहरूको परिवारले पनि ढोका ह्यान्डलको डिजाइनका कारण टेस्लामाथि मुद्दा दायर गरेका छन् ।
दोषसम्बन्धी उजुरी खोलिनु भनेको अनिवार्य रूपमा रिकोल (फिर्ता बोलाउने) जारी हुनेछ भन्ने होइन, तर यसले नियामक समीक्षा प्रक्रियाको पहिलो चरण जनाउँछ । यदि सुरक्षासम्बन्धी दोष पुष्टि भएमा थप कदम चालिन सक्छ।
अमेरिकी सवारी सुरक्षा नियामक एनएचटीएसए (एनएचटीएसए) ले सेप्टेम्बरमा करिब १ लाख ७४ हजार २९० वटा मोडेल वाई सवारीसाधनमा इलेक्ट्रोनिक ढोका ह्यान्डल काम नगर्ने रिपोर्ट आएपछि प्रारम्भिक मूल्यांकन सुरु गरेको पनि जनाएको छ ।