काठमाडौं । सेवा नै परम धर्म हो भन्ने जीवन–दर्शनलाई आत्मसात गर्दै आफ्नो सम्पूर्ण जीवन उद्योग–व्यापार र समाजसेवामा समर्पित गरेका व्यक्ति हुन्– स्वर्गीय ओमप्रकाश गोयल । उनी एक सफल उद्यमी मात्र नभई एक कर्मठ समाजसेवी पनि हुन् ।
स्वर्गीय फूलचन्द गोयल र माता स्वर्गीय सरस्वती देवी गोयलका पुत्रका रूपमा विसं २०२१ सालमा भारतको हरियाणामा जन्मिएका थिए ।
हरियाणाबाटै म्याट्रिक उत्तीर्ण गरी विसं २०१८ सालमा नेपाल आएका उनले झापाको भद्रपुरलाई आफ्नो कर्मयात्राको प्रारम्भिक थलो बनाए । सगरमाथा राइस मिलमा एक कर्मचारीको रूपमा आफ्नो यात्रा सुरु गरेका उनले छोटो समयमै आफ्नो लगनशीलताले २०२० सालमा भद्रपुर बजारबाटै आफ्नै व्यवसायको जग हालेका थिए।
करिब ११ वर्ष किराना पसल सफलतापूर्वक सञ्चालन गरेपछि २०३१ सालमा गोयलले झापाको हडिया बुधबारेलाई आफ्नो स्थायी कर्मथलो बनाए । त्यहाँ उनले स्थापना गरेका ‘गोयल राइस मिल’ आज ५० वर्षपछि पनि निरन्तर सञ्चालनमा छ ।
व्यापारमा आफूलाई स्थापित गराएपछि उनले आफ्नो आम्दानीको ठूलो हिस्सा समाजसेवामा समर्पित गर्न थालेका थिए ।
बुधबारे बजारमा उनले गरेका सामाजिक कार्यहरू आज पनि स्मरणीय छन् । जसमा उनले आफ्नै खर्चमा हनुमान मन्दिर निर्माण गरे । साथै उनले दुईवटा एम्बुलेन्स खरिद गरे । यो एम्बुलेन्स सेवा निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो थियो, जुन स्वास्थ्य सेवामा एउटा नयाँ अध्याय थियो ।
बुधबारेको पुरानो राम जानकी मन्दिर निर्माणदेखि विभिन्न विद्यालय, बाल विकास केन्द्र, नेत्रज्योति संघ र गौशाला निर्माण तथा व्यवस्थापनमा उनको योगदान छ ।
नेपानीजस्ता आधारभूत क्षेत्रमा उनले गरेको पहलकदमीले बुधबारे क्षेत्रको मुहार फेर्न भूमिका खेल्यो ।
गोयल ग्रुपको स्थापना
आफ्नो व्यावसायिक दायरालाई फराकिलो बनाउँदै गोयलले विसं २०४७ सालमा काठमाडौंमा गणपति धुलन उद्योग स्थापना गरे । त्यसपछि गोयल ग्रुपको स्थापना गरी आफ्नो व्यवसायलाई संस्थागत रूप दिए । उनले काठमाडौंको शंखमूलस्थित शन्तु परमेश्वर धाम भवन निर्माण, चन्द्रगिरीस्थित वेद विद्याश्रम स्थापनाका लागि भूमिदान तथा पशुपति गौशालामा धर्मशाला निर्माण जस्ता काममा समेत सहयोग गरे ।
उनले उनी धागो, पशुदाना, ह्यान्डिक्राफ्ट, घिउ–तेल, र केमिकल लगायतका अनेकौं उद्योगहरू स्थापना गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्दै घरेलु उद्योगको विकासमा योगदान पुर्याए ।
गोयलको विसं २०६४ साल चैत्र १४ गते हृदयघातका कारण निधन भयो । उनको सम्झनामा स्थापित ‘गोयल फाउन्डेसन’ले महाभूकम्प, बाढीपहिरो जस्ता राष्ट्रिय विपत्तिहरूमा पीडितहरूको उद्धार, राहत र पुनः स्थापनामा सक्रिय भूमिका खेल्दै आएको छ । फाउन्डेसनमार्फत सञ्चालित बैंक, बीमा, हाउजिङ, जलविद्युत लगायतकामा हजारौंले रोजगारी पाएका छन् ।
नेपालको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र धार्मिक क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०७८ सालमा उनलाई मरणोपरान्त ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट विभूषित गर्यो ।
मंगलबार (हिजो) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार गोयलको तस्बिर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।