काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
बुधबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न एक समारोहमा सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच आईपीओ तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । होटल पार्क ल्याण्ड लिमिटेडका अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्डको सार्वजनिक निष्काशन आईपीओको बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।
चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा फैलिएको होटल पार्क ल्याण्ड लिमिटेडले विगत १८ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल होटलमा ३२ कोठा छन् र गैडाचोकबाट ३५० मिटरको दूरीमा रहेको छ । कम्पनीले छिट्टै आफ्नो क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रमा १०५ कोठा सहित चारतारे होटलमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।