भारतको सहयोगमा निर्माण हुने २ परियोजनाको शिलान्यास

काठमाडौं । भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौं स्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाश कुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रुपमा शिलान्यास गरे । 

सिद्धिचरण नगरपालिका-५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको ४ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भारतीय दूतावासले जनाएको छ ।

नयाँ भवन साढे ३ तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

यस्तै, भारत सरकारको सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका-३ मा अवस्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको पनि शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौं स्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गरे । 

धुर्कोट गाउँपालिका-३ स्थित निन्युखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग ३ करोड ८० लाख रुपैयाँमा निर्माण गर्न लागिएको दूतावासले जनाएको छ ।

नयाँ पूर्वाधारमा फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिका मार्फत कार्यान्वयन गरिने बताएको छ ।

Share News