हुलास वायरको आम्दानी ७.३५ अर्ब, बैंकमा ऋण पनि ७.२९ अर्ब रुपैयाँ

काठमाडौं । करिब पाँच दशकको औद्योगिक विरासत बोकेको हुलास वायर इन्डस्ट्रिजले एकै वर्ष साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । हुलास वायरका अनुसार सन् २०२५ मा ७ अर्ब ३५ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।

यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३.३५ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ७० लाख रुपैयाँ कम हो । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । 

स्वर्गीय महेन्द्रकुमार गोल्छाले सन् १९७९ मा मोरङको बुढीगंगा गाउँपालिकामा हुलास वायर इन्डस्ट्रिज स्थापना गरेका थिए । नेपालकै अग्रणी औद्योगिक संस्थामध्ये एकका रूपमा परिचित हुलास वायर इन्डस्ट्रिजले हाल मोरङ र सुनसरीमा गरी दुईवटा उत्पादन युनिटबाट आईएसओ ९००१ मान्यता प्राप्त विविध स्टिल तथा तारजन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ । 

बुढीगंगा गाउँपालिका-३, बाँसबारीमा रहेको युनिट-१ बाट जीआई वायर ५५ हजार मेट्रिक टन, ग्याबिन बक्स १४ हजार ४०० मेट्रिक टन, एचबी वायर २ हजार ३७५ मेट्रिक टन, रिब्ड वायर ३ हजार ३०० मेट्रिक टन, बाब्र्ड वायर ४५० मेट्रिक टन, वायर नेल्स १ हजार २०० मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसकासाथै, नन-फेरस धातुअन्तर्गत ब्रास ५ हजार ५६० मेट्रिक टन र कपर सिट २ हजार २०० मेट्रिक टन समेत सोही युनिटमा उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

यस्तै, सुनसरीको इटहरी उप-महानगरपालिका-१३, खनारस्थित युनिट-२ बाट टीएमटी तथा न्यारो स्ट्रिप क्वाइल १ लाख ७२ हजार ८०० मेट्रिक टन, एमएस बिलेट ८६ हजार ४०० मेट्रिक टन र एमएस ब्ल्याक पाइप (६ हजार ००० मेट्रिक टन उत्पादन हुँदै आएको छ ।

हुलास वायर इन्डस्ट्रिज गोल्छा परिवारका सदस्यहरूद्वारा प्रवर्द्धित कम्पनी हो । कम्पनीको सेयर संरचनाअनुसार पारस एम. गोल्छाको करिब ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको करिब १७ प्रतिशत सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक युक्ति गोल्छाले सम्हाल्दै आएकी छन् । उद्योग क्षेत्रमा एक दशकको अनुभव बोकेकी उनको नेतृत्वमा हुलास वायर इन्डस्ट्रिजले आफ्नो सञ्चालन क्षमता र व्यवस्थापन दक्षता अभिवृद्धि गर्दै आएको कम्पनीले जनाएको छ ।

उद्योग सञ्चालनका लागि हुलास वायरले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब २९ करोड २७ लाख रुपैयाँ कर्जा लिएको छ । जसमा कम्पनीले २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । 

यस्तो छ उद्योगको आम्दानी 

उद्योगले सन् २०१७ मा ६ अर्ब ९६ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ७ अर्ब ५१ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

उद्योगले सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ५ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

Share News