काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारण सभा पुन:विवादमा तानिएको छ । नाडाको ४९ औं वार्षिक साधारण सभा विधान विपरीत हुन लागेको भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका हुन् ।
वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिए पनि निर्वाचन नगरी साधारण सभा गर्न लागिएको भन्दै सदस्य आकाश गोल्छा लगायतको समूहले रोक्न अदालत र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
नाडाका सदस्य आकाश गोल्छाका अनुसार संस्थाको विधानमा कार्यसमितिको कार्यकाल दुई वर्षको हुने र दोस्रो साधारण सभामा निर्वाचन हुनै पर्ने स्पष्ट व्यवस्था छ । तर वर्तमान कार्यसमितिले निर्वाचन बिनै साधारण सभा गर्न लागेर विधानको उल्लंघन गरेको उनको आरोप छ ।
नाडाको कार्यसमितिले मंसिर १५ गते बसेको बैठकबाट पुस ९ गते साधारण सभा गर्ने निर्णय गरे पनि त्यसलाई रोक्न माग गर्दै केही सदस्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सोमबार निवेदन दर्ता गराएका छन् ।
निर्वाचन कार्यक्रम नै सार्वजनिक नगरी अवैधानिक रूपमा साधारण सभा गर्न लागिएको दाबी गर्दै उनीहरूले सभा तत्काल रोक्न माग गरेका हुन् । नाडाको विधानअनुसार हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन अनिवार्य व्यवस्था गरिएको छ ।
नाडाले यसअघि २०८० साल पुस २० गते सम्पन्न साधारण सभाबाट नयाँ नेतृत्व चयन गरेको थियो । सो कार्यसमितिको कार्यकाल यही पुस १९ गते समाप्त हुँदैछ । तर कार्यकाल समाप्त हुनै लाग्दा पनि नाडाले निर्वाचन प्रक्रिया अगाडि नबढाएको भन्दै सदस्यहरू असन्तुष्ट देखिएका हुन् ।
विधानमा स्पष्ट रूपमा साधारण सभा हुनुभन्दा कम्तीमा १५ दिनअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर पुस ९ गते साधारण सभाको मिति तोकिएको भए पनि हालसम्म निर्वाचन तालिका सार्वजनिक गरिएको छैन ।
‘चुनाव नगरिकन दोस्रो साधारण सभा कसरी हुन सक्छ ? यो विधानसम्मत छैन,’ गोल्छाले भने, ‘यसरी विधान विपरीत सभा गर्दा पछि अदालतले बदर गर्न सक्ने र यसले संस्थाको पैसा मात्र खेर जाने जोखिम छ ।’
यो विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको र अहिलेसम्म कुनै आदेश नआएको उनले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि यस विषयमा ध्यानाकर्षण गराइएको छ तर त्यहाँबाट पनि कुनै निर्णय आएको छैन ।
यसले गर्दा भोलि हुने भनिएको साधारण सभा हुने वा नहुने भन्नेमा अन्योलता बढेको छ । असन्तुष्ट पक्षको निवेदनका बाबजुद वर्तमान कार्यसमितिले साधारण सभाको तयारीलाई अघि बढाइरहेको देखिन्छ ।
गोल्छाले भने, ‘हामीले गलत प्रक्रियाका विरुद्ध आवाज उठाएका हौं । जबसम्म यो प्रक्रिया सच्याइँदैन, तबसम्म हामी लडिरहन्छौँ ।’
अदालत र प्रशासनबाट कुनै अन्तिम निर्णय नआइसकेको अवस्थामा साधारण सभा आयोजना गरिए त्यसको वैधानिकतामाथि नै प्रश्न उठ्ने असन्तुष्ट पक्षको भनाइ छ ।
निर्वाचनबिना साधारण सभा गरिनु विधान विपरीत हुने र यसले संस्थालाई थप कानुनी जटिलतामा धकेल्न सक्ने निवेदनमा उल्लेख छ ।
गोल्छासहित ८ जना कार्यसमिति सदस्यले मंगलबार (आज) नाडा अध्यक्ष करण चौधरीलाई पत्र लेख्दै बुधबार हुने ४९ औं वार्षिक साधारण सभा रोक्न माग गरेका हुन् ।
नाडाले आफूलाई महासंघ बनाउने एजेन्डासहित भोलि ललितपुरको होटल द प्लाजामा साधारण सभा गर्दैछ।