काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगले आन्दोलनका क्रममा भएका घटनाबारे अनुसन्धानलाई तीव्र बनाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने प्रक्रिया सुरु भइसकेको जनाएको छ ।
आयोगका अनुसार आन्दोलनको पृष्ठभूमि, निर्णय प्रक्रिया, सुरक्षा निकायको भूमिका तथा आन्दोलनका क्रममा भएका दमन, क्षति र मानवअधिकार उल्लङ्घनसम्बन्धी विषयमा बयान प्रक्रिया अघि बढाइएको हो ।
यसअघि आयोगले आन्दोलनमा प्रत्यक्ष संलग्न सुरक्षा अधिकारी, प्रशासनिक निकाय, पीडित पक्ष तथा प्रत्यक्षदर्शीहरूसँग बयान संकलन गरिसकेको छ ।
आयोगले निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने उद्देश्यसहित सबै सम्बन्धित पक्षसँग बयान लिने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
बयानका आधारमा जिम्मेवारी निर्धारण, नीतिगत कमजोरी पहिचान तथा भविष्यमा यस्ता आन्दोलनका क्रममा दोहोरिन सक्ने घटनालाई रोक्न सिफारिस तयार पारिने आयोगको भनाइ छ ।