बीवाईडी बेच्ने साइमेक्स इंकको एक वर्षमै साढे ११ अर्ब रुपैयाँ आम्दानी, ईभी बजारमा बलियो पकड

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एकै वर्ष साढे ११ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । 

यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत अर्थात् ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीले १६ अर्ब ४० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

बढ्दो प्रतिस्पर्धाबीच साइमेक्स इंकले छोटो समयमै नेपाली अटोमोबाइलमा बलियो उपस्थिति जनाउन सफल भएको छ । साथै साइमेक्स इंकको आम्दानीमा बीवाईडी अटो–३ र डल्फिन मोडलको ९० प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हालै अटो-१, अटो-२ का कम मूल्यका नयाँ ईभी सवारीसाधन लञ्च गरिसकेको छ । यसबाट थप आम्दानी बढ्ने विश्वास कम्पनीले लिएको छ । 

सन् २०१६ जुलाईमा स्थापना भएको साइमेक्स इंक प्रालिले नेपालमा बीवाईडी ब्रान्डका यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति दरिलो बनाएको छ ।

साइमेक्स इंकले देशभरका प्रमुख सहरमा १४ वटा डिलरशिप आउटलेटमार्फत सवारी साधन बिक्री वितरण गर्दै आएको छ । साथै देशभर कम्पनीले विभिन्न ठाउँमा ६४ वटा चार्जिङ स्टेशन पनि सञ्चालन गरिरहेको जनाएको छ।

कम्पनीमा ५०.५ प्रतिशत सेयर स्वामित्व यमुना श्रेष्ठको रहेको छ भने बाँकी ४९.५ प्रतिशत सेयर सेयर स्वामित्व उनका भाइ अनिल श्रेष्ठको नाममा रहेको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ४५ करोड रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब रुपैयाँ ऋण लिएको थियो । 

Share News