काठमाडौं । युरोपमा नयाँ कार बिक्री नोभेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा लगातार पाँचौं महिना बढेको छ । जर्मनी, इटाली र स्पेनसहितका बजारमा विद्युतीय सवारीसाधन (ईभी) को दर्ता बढेकाले बिक्रीमा सहयोग पुगेको युरोपेली अटो उद्योगको छाता संगठन एसीईए (एसीईए) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
ब्याट्री–विद्युतीय सवारी (बीईभी) को दर्ता जसलाई बिक्रीको सूचक मानिन्छ । जुन युरोपेली संघ (ईयू) मा २१ प्रतिशत, बेलायतमा २६ प्रतिशत र नर्वेमा ९८ प्रतिशत बजार हिस्सामा पुगेको छ ।
ईयूले गत साता क्षेत्रीय अटो उद्योगको दबाबपछि आन्तरिक दहन इन्जिन (डिजेल पेट्रोलबाट चल्ने) कारमाथि सन् २०३५ देखि लागु हुने प्रभावकारी प्रतिबन्धबाट पछि हट्ने योजना सार्वजनिक गरेको थियो । यो पछिल्ला वर्षहरूमा ब्लकको हरित नीतिबाट भएको सबैभन्दा ठूलो कदम फिर्ता मानिएको छ। तर विश्लेषकहरूका अनुसार दीर्घकालमा ईभी नै भविष्य हो ।
एसीईएका अनुसार नोभेम्बरमा युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा कार बिक्री २.४ प्रतिशतले बढेर ११ लाख पुगेको छ ।
फक्सवागन र रेनोमा दर्ता क्रमशः ४.१ प्रतिशत र ३ प्रतिशतले वार्षिक आधारमा बढ्यो । स्टेलान्टिसमा भने तीन महिना लगातार वृद्धि भएपछि २.७ प्रतिशतले गिरावट आयो ।
टेस्लाको दर्ता ११.८ प्रतिशतले घट्यो । नर्वेमा कीर्तिमानी बिक्रीले अन्य बजारका घाटा केही हदसम्म पूर्ति गरेको थियो । यसको चिनियाँ प्रतिस्पर्धी बीवाईडीमा भने दर्ता २२१.८ प्रतिशतले उक्लिएको छ । उक्त महिनामा टेस्लाको बजार हिस्सा २.१ प्रतिशत र बीवाईडीको २ प्रतिशत रहेको छ ।
ईयूमा कुल कार बिक्री २.१ प्रतिशत बढेर करिब ९ लाख पुगेको छ । ब्याट्री–विद्युतीय, हाइब्रिड–विद्युतीय र प्लग–इन हाइब्रिड कारको दर्ता क्रमशः ४४.१ प्रतिशत, ३८.४ प्रतिशत र ४.२ प्रतिशतले बढेर ब्लकको कुल दर्तामा संयुक्त रूपमा ६५.६ प्रतिशत हिस्सा ओगटेको छ । यो हिस्सा अगस्ट २०२४ मा ५६ प्रतिशत थियो ।