काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डका विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एसआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका हुन् ।
५० किलोवाट क्षमताको मोटर जडान गरिएको यस भ्यानको रेन्ज ३०० किलोमिटर रहेको छ । कम्पनीले यसको मूल्य ३९ लाख रुपैयाँ तोकेको छ । कर्पोरेट हाउस, होटल, स्कुल लगायतका संस्थागत प्रयोजनका लागि यो भ्यान निकै उपयोगी हुने भीजी मोटर्सको दाबी छ ।
कम्पनीका अनुसार हाल नेपालभर ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा छन् । साथै, यसका स्पेयर पार्ट्सको लागत अन्य ईभीको तुलनामा करिब ८० प्रतिशतसम्म सस्तो पर्ने बताइएको छ ।
सार्वजनिक कार्यक्रमकै अवसरमा कम्पनीले ईभीसम्बन्धी मिथक र भावी प्रभावबारे कार्यशाला पनि आयोजना गरेको थियो । कार्यशालामा सवारीधनीका प्रमुख चासोलाई सम्बोधन गर्दै विभिन्न विज्ञहरूले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओले जोयलोङ र एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराउँदै नेपाल भित्र्याइएका ईभी प्रविधि विश्व बजारमा परीक्षण भइसकेका र स्थानीय हावापानीमा पनि विश्वसनीय रहेको बताए ।
अटोमोटिभ ईभी ड्राइभ–ट्रेन विशेषज्ञ सम्राट गौतमले कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतसम्म घट्ने तथ्यांक प्रस्तुत गरे । एउटा डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु गुणस्तरमा उल्लेख्य सुधार आउने उनको भनाइ थियो ।
भीजी मोटर्सका बिजनेस हेड चन्दन रौनियारले विस्तृत लागत–लाभ विश्लेषण प्रस्तुत गर्दै सुरुवाती लगानी परम्परागत इन्धनमा चल्ने सवारीभन्दा केही फरक देखिए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत अत्यन्तै ठूलो हुने बताए । उनले भविष्यमा सेकेन्ड–ह्यान्ड ईभीको माग र मूल्य दुवै उच्च रहने दाबी गरे ।
मेकानिकल इन्जिनियर दीपक शर्माले ईभीमा चलायमान पार्टपुर्जाको संख्या कम हुने भएकाले मर्मत खर्च ६० प्रतिशतभन्दा बढीले घट्ने बताए । ईभीमा आयल चेन्ज, स्पार्क प्लग तथा जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने उनको भनाइ थियो ।
ब्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्दै दिनेश दाहालले आधुनिक ईभी ब्याट्रीहरू सवारीको सामान्य व्यावसायिक आयुभन्दा लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको र ब्याट्री रिसाइक्लिङमार्फत चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित हुने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि चीनबाट प्राविधिक तथा इन्जिनियरहरू ल्याई ईभी चालक र सवारीधनीलाई लक्षित गर्दै यस्ता कार्यशालाहरू निरन्तर आयोजना गरिने जानकारी दिए ।