५४ कम्पनीको सेयर मूल्य बढ्यो, एसवाई प्यानलमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २५८१ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ५४ कम्पनीको मूल्य बढ्दा २०० कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । 

सोमबार ३३२ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लुम्बिनी बिकास बैंकको भएको छ । लुम्बिनीको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड, मन्जुश्री फाइनान्सको ७ करोड ३९ लाख, हिमालयन पावरको ७ करोड २९ लाख  र सिटिजन्स लाइफको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशतले बढेको छ । जीवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशतले घटेका छन् । बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य ०.६९ प्रतिशतले घटेका छन् ।

सोमबार एसवाई प्यानलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

Share News