काठमाडौ । बीमाको पुँजी वृद्धिलाई बजार विस्तारले पनि समर्थन गरेको छ । बीमा क्षेत्रको प्रचार–प्रसारपछि बीमा गर्नेहरूको संख्यासँगै बीमा कारोबार रकम पनि बढेको छ । गएको वर्षको दोस्रो त्रैमासम्म १३ अर्ब ११ करोड करोड रहेको यस्तो रकम यस वर्षको दोस्रो चौमासमा आइपुग्दा बढेर १६ अर्ब १५ करोड पुगेको छ ।
जीबन बीमा प्रिमियमको वृद्धि २३.१८ प्रतिशतले बढेको देखिएको छ । त्यस्तै, चालू आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिकसम्म ७ लाख ५९ हजार २० जनाले बीमा गरेका छन् ।
गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार १ सय ४९ जनाले जीवनबीमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष १ लाख २ हजार ८ सय ५१ जना बीमा गर्ने बढेका छन् । बीमा गर्नेको रकम बढेसँगै बीमा रकम पनि बढेको बीमा समितिका अध्यक्ष चिलञ्जीवी चापागाईँले बताए ।
गत वर्षको तुलनामा यस आर्थिक वर्षमा ३ अर्बभन्दा बढीले जीवन बीमाबापतको शुल्क बढेको समितिको तथ्यांकले देखाएको छ । यस अवधिमा ७ अर्बको सर्वाधिक जीवन बीमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बीमा ६ अर्ब रुपैयाँको मात्र थियो । यसरी बीमा गराउने कम्पनीहरूमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
उक्त कम्पनीले यस अवधिमा ४ अर्ब ९४ करोडको जीवन बीमा प्रिमियम संकलन गरेको छ । जीवन बीमा गराउने दोस्रो कम्पनी लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा ३ अर्ब ६७ करोडको जीवन बीमा गराएको छ । नेशनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बीमा गराउने कम्पनीको तेस्रो स्थानमा रहेको छ । उक्त अवधिमा सो कम्पनीले दुई अर्ब ९ करोडको जीवन बीमा गराएका थिए ।
गएको वर्षको दोस्रो चौमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब १२ करोड, लाइफ इन्स्योरेन्स २ अर्ब ९५ करोड, नेशनल लाइफ इन्स्योरेन्स १ अर्ब ४९ करोड रकमको जीवन बीमा गराएका थिए ।