एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले 'विश्व लगानीकर्ता सप्ताह, २०२५' को अवसरमा सोलुखुम्बु र पाल्पाका तीन स्थानमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

पुस १–२ गते सम्पन्न कार्यक्रमहरुमा सेजोङ कोरियन भाषा इन्स्टीच्युट (सोलुखुम्बु), सोलुखुम्बु बहुमुखी क्याम्पस, र सहिद बहुमुखी क्याम्पस (पाल्पा) मा ३५० भन्दा बढी विद्यार्थी, क्याम्पस कर्मचारी तथा आम सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रम अन्तर्गत धितोपत्र बजारको विकास, डिम्याट खाता र ब्रोकर खाता खोल्ने प्रक्रिया, प्राथमिक सेयर निष्काशन, दोश्रो बजारमा लगानी, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष (एसआइपी) र लगानी सम्बन्धी निर्णय गर्दा ध्यान दिनुपर्ने बुँदाहरुमा विस्तृत जानकारी प्रदान गरिएको थियो । सहभागीहरुसँग छलफल तथा अन्तरक्रियाको माध्यमबाट पूँजी बजार सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने अवसर समेत सिर्जना गरिएको संस्थाले जनाएको छ ।

एनआईसी एशिया क्यापिटलले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ र यस प्रकारका कार्यक्रमहरु जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Share News