लक्ष्मी ग्रुपले पूरा गर्‍यो ५२ वर्ष, सामाजिक उत्तरदायित्वमा सक्रिय

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औँ वर्ष पूरा गरेको छ । सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक सानो पसलबाट सुरु भएको यात्रा पाँच दशकभन्दा बढी समय पार गर्दै आज एक सफल र स्थापित व्यावसायिक घरानाको रूपमा विकसित भएको छ ।

विगतका वर्षहरूमा ग्रुपले विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेको छ । हाल यसको पोर्टफोलियोमा अटोमोबाइल (साना तथा ठूला सवारीसाधन र पार्टपुर्जा), इलेक्ट्रोनिक्स, स्टिल, कागज, प्लास्टिक तथा मिठाई उत्पादनसम्बन्धी उद्योगहरू रहेका छन् । पाँच दशकको अवधिमा देशको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको यस ग्रुपले हाल २ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको छ ।

स्थापनाको ५२औँ वर्षको अवसरमा लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक कार्यक्रमहरू सञ्चालन गरेको छ । समुदायको हितका लागि देशभर रक्तदान कार्यक्रम आयोजना गरिएको छ, जसले स्वास्थ्य प्रवर्द्धन र जनचेतनाप्रतिको ग्रुपको प्रतिबद्धता झल्काएको छ ।

यसैक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’लाई शैक्षिक सामग्री तथा अन्य आवश्यक सामग्री सहयोग गरेको छ । त्यस्तै, लक्ष्मी ग्रुपअन्तर्गतको हुण्डाई काठमाडौंले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरी वातावरण संरक्षण र सम्पदा संरक्षणप्रति आफ्नो ऐक्यबद्धता जनाएको छ ।

५२ वर्षको यो महत्वपूर्ण उपलब्धि हासिल गर्दै लक्ष्मी ग्रुपले व्यावसायिक वृद्धिसँगै सामाजिक जिम्मेवारीलाई समान रूपमा प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएको छ । समुदायको हितमा गरिएको लगानीले नै व्यवसायलाई दिगो र सफल बनाउने विश्वास ग्रुपले व्यक्त गरेको छ ।

Share News