काठमाडौं । अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चलिरहेको छ । प्रविधिको दुनियाँमा अमेरिकाको दबदबा छ र चीन यस क्षेत्रमा उसलाई कडा चुनौती दिन चाहन्छ । तर संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनका लागि यो काम सजिलो भने छैन ।
यसको कारण के हो भने अमेरिकामा वार्षिक नेट नाफा १ अर्ब डलरभन्दा बढी हुने ६२ वटा प्रविधि कम्पनी छन् । चीनमा भने यस्ता कम्पनी केवल १५ वटा मात्र छन् । यसले स्पष्ट देखाउँछ कि चीनले अझै लामो बाटो तय गर्न बाँकी छ ।
चीन, जापान, ताइवान र युरोजोनका शीर्ष प्रविधि कम्पनीहरूलाई समेत जोड्दा पनि अमेरिका एक्लै यी सबैभन्दा अगाडि देखिन्छ । यी देशहरूमा वार्षिक नाफा १ अर्ब डलरभन्दा बढी हुने जम्मा ४१ वटा प्रविधि कम्पनी छन् ।
संसारका १० ठूला कम्पनीमध्ये ८ वटा अमेरिकाका प्रविधि कम्पनी हुन् । तीमध्ये एनभीडीया, एप्पल, अल्फाबेट, माइक्रोसफ्ट, अमेजन, मेटा प्लेटफर्म्स, टेस्ला र ब्रडकम पर्छन् । यी सबै कम्पनीहरूको बजार पुँजीकरण १ ट्रिलियन डलरभन्दा बढी छ ।
त्यसैगरी, संसारका सबैभन्दा बढी इनोभेटिभ १० कम्पनीमध्ये ८ वटा अमेरिकाकै हुन् । यस सूचीमा सर्विसनाओ पहिलो स्थानमा छ। त्यसपछि वर्कडे, सेल्सफोर्स, टेस्ला, अमेजन, नेटफ्लिक्स र इनसाइट पर्छन् । यी सबै अमेरिकी कम्पनीहरू हुन् ।
भारतको हिन्दुस्तान युनिलिभर यस सूचीमा आठौं र दक्षिण कोरियाको नेभर नवौं स्थानमा छन् । अमेरिकाकै फेसबुक यस सूचीमा दशाैं स्थानमा छ । यदि शीर्ष २५ इनोभेटिभ कम्पनीहरू हेर्ने हो भने तीमध्ये १८ वटा अमेरिकाकै छन् ।